धैर्य नगुमाऔं, परिवारका सदस्यकै शव हेर्न नपाउने दिन आयो भने ?
साँच्चै कोरोना नियन्त्रणको चिन्ता भए सहयोगका लागि कर्णाली आउन डा. रावलको आग्रह
काठमाडौं । कोरोना महामारीका बेला सरकारले प्रभावकारी काम गर्न नसकेको, लकडाउन मात्रै बढाएको र आर्थिक अनियमितता गरेको आरोपमा अहिले देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ । यही बेला देशमा कोरोना संक्रमणको गति तीब्ररुपमा बढिरहेको छ । कोरोना संक्रमणबाट बच्न उच्च शतर्कता अपनाउनु पर्ने बेला भीड जम्मा भएर दिनहुँजसो हुने प्रदर्शनले स्थिति कस्तो भयावह होला यसको आँकलन गर्न कठिन छ ।
रोगबाट जोगिन पनि यसबेला व्यक्ति आफैं सचेत हुनुपर्ने चिकित्सकहरूको भनाइ छ । यस्तो जटिल समयमा भीड भएर प्रदर्शनमा उत्रनु समाजमा रोग फैलाउन मद्दत पुर्याउने कार्य भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावल बताउनुहुन्छ। समाजमा कोरोना महामारी फैलाएर जोखिममा धकेल्ने काम कसैले गर्छ भने त्यो अपराध हुने उहाँको ठहर छ । ‘असन्तुष्टि, असहमतिका विषय एकातर्फ छन्, समाज र राष्ट्रलाई महामारीबाट जोगाउने जिम्मा सबै नागरिकको हो’ रावल भन्नुहुन्छ–‘कोरोना महामारी फैलिँदा त्यसको क्षति हामीले नै भोग्ने हो।’ यस्तो बेला संयम गुमाए स्थिति भयावह हुने चेतावनी उहाँले दिनुभयो ।
आफूहरू कोरोना नियन्त्रणकै लागि दिनरात नभनी खटिरहेको भन्दै उहाँले प्रदर्शनमा उत्रनेलाई साँच्चै कोरोना नियन्त्रणको चिन्ता भए सहयोगका लागि कर्णाली आउन डा. रावलले आग्रह गर्नुभयो । ‘कर्णालीमा कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइन व्यवस्थापन लगायतका काममा जनशक्ति अभाव छ¬’ उहाँले भन्नुभयो–‘सडकमा प्रदर्शन गरेर कोरोना फैलाउनु भन्दा यहाँ आउनुहोस्, महामारी नियन्त्रण गरेपछि अन्य कुरा सोचौँला ।’
पहिला महामारी रोकथामतर्फ लागौं यसरी हिड्दा महामारी रोकिन्छ कि फैलन्छ उहाँले प्रश्न गर्नुभएको छ । उहाँ भन्नुहुन्छ यो उर्जावान जनशक्तिलाई सही ठाउँमा सदुपयोग गरौ । रावल भन्नुहुन्छ :
१.कर्णालीमा आउनुभएमा हामी ३÷४ दिन प्रशिक्षण दिनेछौ र सबैको कन्ट्याक्ट ट्रेसिङलाई घर–घर गए यो भीडको सदुपयोग पनि हुनेछ ।
२. प्रत्येक घरमा गएर घरमा नै बस्नुपर्छ भनेर बरु सुरक्षाका लागि बसे भने कोरोना विरुद्धको अभियानमा सहज हुनेछ र होम क्वारेन्टाइन प्रभावकारी रुपमा लागू हुनेछ ।
३.वर्तमा अवस्थामा जुलुशमा लाग्नुभन्दा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई निकै अप्ठेरो छ उनीहरुसंगै हिडेर जनचेतनाको काममा लागे त्यसको परीणाम उपलब्धीमुलक हुनेथियो ।
४. माथिका यी सबै काम गर्न नसके आफ्नो आफ्नो घरमा बसिदिएमा मात्रै कोरोना संक्रमण फैलिदैन थियो । यदी यो भीडमा एक जनालाई मात्रै पनि कोरोना पोजेटिभ रहेछ भने स्थिति के होला ? सोचौ, धैर्य नगुमाऔं र महामारीबाट जोगिऊ ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीर पाण्डेले पनि अहिले सडकमा भीड गरी प्रदर्शन गर्दै असन्तुष्टि पोख्ने उपयुक्त समय नभएको तर्फ सचेत गराउनु भएको छ ।
यस किसिमका प्रदर्शनबाट कोरोना संक्रमण फैलिएका विभिन्न देशका उदाहरण दिँदै उहाँले असन्तुष्टि जनाउनुभएको छ । जनस्वाथ्यमाथिको जटिलतालाई ध्यान दिएर अहिले यस्ता कार्य बन्द गर्नु पर्ने उहाँको सुझाव छ।
डा.रवीन्द्र समीरका सुझाव उहाँकै भनाइमा
केहि दिन यता देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । कोरोनाको नाममा १० अरब खर्च भएको, स्वास्थ्य मन्त्रालयले बिज्ञको सुझाब बिपरित रोग पत्ता लगाउन उपयोगी नहुने आरडीटि किटको व्यापक दुरुपयोग गरेको तथा केही मन्त्रीको कारण कोरोना नियन्त्रण एवम् आर्थिक सुशासन कायम नभएको, क्वारेन्टाइन रोग सार्ने केन्द्र बनेको, स्वास्थ्यमन्त्रीले एकपटक पनि सीमावर्ती क्षेत्रका क्वारेन्टाइन अवलोकन एवम अनुगमन नगरेको, जनतालाई ठोस राहत एवम् सामाजिक सुरक्षाको योजना नल्याएको लगायत धेरै विषयमा हामी सबै असन्तुष्ट छौं ।
महामारीको बेलामा नेपालजस्तो गरिब देशले आर्थिक मितव्ययिता गर्ने, खर्च ब्यापक कटौती गर्ने तथा भोलेन्टियर भएर देशको लागि योगदान गर्ने बेलामा केहि व्यक्तिको आर्थिक हालीमुहाली अक्षम्य छ।
अहिले कोरोना संक्रमणको महामारी चलेको छ । यो समयमा निम्नलिखित कुरामा हामीले ध्यान दिएनौं भने महामारी झनै बढ्ने खतरा रहन्छ ।
.
–भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शन गरेका थिए । अहिलेको अवस्था हेर्दा महाराष्ट्रमा संक्रमितको संख्या ९७, ६४८ पुगेको छ भने ३५९० जनाको मृत्यु भएको छ । जबकी चीनमा संक्रमितको संख्या ८३०५७ छ ।
–स्पेनमा भएको प्रदर्शनमा सहभागी धेरै संक्रमित भएको र त्यसको केही हप्तापछि आफन्तले शव हेर्नसमेत नपाएको अवस्था आएको थियो ।
–ब्राजिलमा भएको प्रदर्शनको कारण हजारौं संक्रमित भएको बताइएको छ ब्राजिलले संक्रमितको संख्यामा अहिले अमेरिकालाई पछ्याइरहेको छ ।
–जुलुसमा सामाजिक दूरी कायम नहुने, मास्कको प्रयोग सही तरिकाले नहुने, अपरिचितको भीड हुने, हात धुने र सेनिटाइजर प्रयोग नहुने भएकोले रोग सर्ने सम्भावना बढी हुन्छ ।
–अध्ययनले देखाएको छ कि विरोध प्रदर्शनमा चिच्याउने, नारा लगाउने, सिठी फुक्ने, खोक्ने आदि गर्दा संक्रमितको मुखबाट कोरोना भाइरसको लोड धेरै निस्किने र धेरैजना एकैपटक संक्रमित हुने सम्भावना धेरै हुन्छ ।
–त्यहाँ हामी युवा संक्रमित भएमा हाम्रो घरमा रहनुभएका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, सुत्केरी लगायतलाई संक्रमण सरेर जोखिम धेरै बढ्छ।
–सहरी क्षेत्रमा लाखौँको बसाइ हुने तथा ठूलो समूहमा संक्रमण गयो भने संक्रमण अनियन्त्रित भएर हाम्रा अस्पतालले धान्न नसक्ने अवस्था आउन सक्छ ।
–यो महामारीको समयमा गर्ने विरोधको स्वरूप परिवर्तन गरेमा हामी सुरक्षित हुनेछौं सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन आदिको माध्यमबाट सामूहिक विरोध हुँदा विगतमा धेरै मन्त्रीले राजीनामा दिन बाध्य भएको हामीलाई अवगत नै छ ।
–सरकारले आर्थिक अनुशासन, पारदर्शिता, मितव्ययिता तथा जवाफदेहितालाई आफ्नो कर्तव्य ठानेर जनताका हरेक सरोकारलाई इमान्दरितापूर्वक व्यबहारमा देखाउन सक्नु पर्दछ ।
–कमीकमजोरी, अनियमितता तथा ढिलासुस्ती गर्ने जो कोहिलाई पनि पदमुक्त गर्ने, सक्षम व्यक्तिलाई काम गर्ने अवसर दिने, हरेक आर्थिक गतिविधिलाई नियामक निकायबाट अनुगमन गर्ने तथा जनतालाई रोग, भोक र आर्थिक समस्याबाट बचाउन सरकार क्रियाशील हुनु जरुरी छ ।
–यो विषम परिस्थितिमा सरकार, आम जनता तथा मेडिया एकताबद्ध भएर महामारीसंग जुध्नुको बिकल्प छैन ।
–देशव्यापी भएको यो प्रदर्शन सरकारले समयमै सुनेर जनता विश्वस्त हुने गरि सम्बोधन गरोस । सरकारले सबै नागरिकको अभिभावक भएको कर्तव्य पालना गरोस । त्यसो भएमा आम नागरिकको असन्तुष्टि निराकरण हुनेछ।
संयमित बनौं, सुरक्षित बनौं, जीवन अमूल्य छ ।
कोरोना संक्रमणको उच्च जोखिमका बेला यस खालका क्रियाकलालाई बल पुर्याउन नभइ निरुत्साहित गर्नु नै सचेत व्यक्ति तथा समूहको कर्तव्य भएको चिकित्सकहरूको भनाइ छ । केही समय उत्तेजनामा आउनाले यसले महामारी अनिन्त्रिय अवस्थामा पुग्ने र त्यसको क्षति र असर सबै पक्षलाई उक्तिकै पर्नेतर्फ सचेत हुन उहाँहरूको आग्रह छ।
यस्तो बेला धैर्य गुमायो भने अकल्पनीय अवस्था आउन सक्छ । त्यो बेला कसैमाथि प्रश्न उठाउने, दोष लगाउने, गुनासो, अनुनय–विनय गर्नका लागि हामी समक्ष केही बाँकी नरहन पनि सक्छ । स्वास्थ्यको कुरामा सबै सचेत हुनैपर्छ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत