स्वास्थ्य मन्त्रालयले ७ वटा आधुनिक पीसीआर मेशिन खरिद गर्दै, २८ भेन्टिलेटर भन्सारमा
काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोरोना भाइरस रोग(कोभिड १९) को परीक्षणका लागि थप ७ वटा आधुनिक पीसीआर मेशिन खरिद गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले खरिद गर्न लागेको मेशिनबाट छोटो समयमा अहिलेको भन्दा धेरै नमुना(स्वाब) परीक्षण गर्न सकिनेछ । हाल दिनहुँ ४५ सय देखि ५ हजारसम्म परीक्षण भइरहेको छ ।
गत सोमबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट दैनिक १० हजारको पीसीआर जाँच हुने जानकारी गराउनुभएको थियो । मन्त्रिपरिषद्को बैठकले कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक मेशिनरी तथा मेडिकल सामग्री तत्काल खरिद गर्ने निर्णय गरिसकेको छ ।
यसैगरी बेलायतबाट २८ वटा आधुनिक भेन्टिलेटर भन्सारमा आइपुगेको छ । १३ हजार डलर पर्ने १४ र ५ हजार २ सय डलर पर्ने १४ गरि २८ वटा भेन्टिलेटर भन्सारमा आइपुगेको र भोलि उक्त सामान छुटाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा सार्वजनिक तथा निजी अस्पतालहरुमा गरि २६ हजार ९३० सामान्य शैंया छन् । चैत ११ गतेसम्म ७७० भेन्टिलेटर रहेकोमा हाल ९०० पुर्याइएको छ भने १ हजार ५५१ आइसीयू रहेकोमा हाल १९४ अस्पतालमा १ हजार ७०२ आइसीयू रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत