पाटन अस्पतालबाट मेसिन चोरेको आरोपमा डाक्टर पक्राउ

सांकेतिक तस्बिर
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालको आइसियू कक्षबाट पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा चिकित्सक डा. प्रवीण मिश्र र अहेव रमेशकुमार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै जनालाई बानेश्वरबाट प्रक्राउ गरिएको ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
हेल्थपाटीसंग कुरा गर्दै एसएसपी राईले पक्राउ परेका चिकित्सक डिएन्डबी मेडिकेयर बर्दिबासमा कार्यरत रहेको अनुसन्धानका क्रममा खुलेको बताउनुभयो । २० लाख ७९ हजार रुपैयाँ पर्ने पोर्टेबल मेशिन स्वास्थ्यकर्मी व्यस्त रहेको बेलामा उनीहरूले चोरी गरेको खुल्यो उहाँले भन्नुभयो ।
जेठ १७ गते मेसिन चोरी भएपछि अस्पतालले प्रहरीमा उजुरी परेपछि अनुसन्धानका क्रममा पाटन अस्पतालकै कार्यरत कर्मचारीको मिलेमतोमा डाक्टरले मेशिन चोरी गरेको पाइएको उहाँले बताउनुभयो । पक्राउ परेका शर्मा बर्दिबासकै अस्पतालमा कार्यरत अहेव हुन् ।
उनीहरूले चोरीको मेसिन बानेश्वरस्थित आफन्तको डेरामा राखेका थिए । आफूहरू कम्पनीबाट मेसिन मर्मत गर्न आएको भन्दै आइसियूमा छिरेर उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ । बर्दिबासको आफ्नो अस्पतालमा जडान गर्नका लागि मेसिन चोरी गरेको अनुसन्धानमा खुलेको छ । उनीहरूलाई चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । मेसिन प्रहरीले बरामद गरेको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत