कोरोनाको खोप नबनेसम्म फिलिपिन्समा विद्यालय नखुल्ने
काठमाडौं । फिलिपिन्स सरकारले कोरोना भाइरस रोग(कोभिड १९)को खोप नआएसम्म विद्यालयहरु नखोल्ने भएको छ । सोमबार फिलिपिन्सका शिक्षा सेक्रेटरी लियोनोर ब्रिओन्सले अगस्टको अन्तिमदेखि अनलाइन अथवा टिभि कक्षा सुरु गर्ने बताउँदै खोप नबनेसम्म विद्यालय भने नखुल्ने जानकारी दिनुभएको हो । सरकारको यस्तो निर्णयपछि फिलिपिन्सका लाखौं विद्यार्थी शिक्षाको पहुँचबाट बाहिर रहने चिन्ता बढेको छ ।
फिलिपिन्समा गाउँ–गाउँमा इन्टरनेटको सुविधा नभएकाले अनलाइन शिक्षाले सबैलाई समेट्न नसक्ने भएको छ । विश्वभर वैज्ञानिकहरु कोरोना भाइरसको खोप निर्माणका लागि जुटिरहेका छन् तर खोप बजारमा आउन अझै कम्तिमा एक वर्ष लाग्न सक्ने बताएका छन् ।
कोरोनाको संक्रमण बढ्दै गएपछि फिलिपिन्समा मानिसको गतिविधि तथा घरबाट बाहिर निस्कन समेत कडाइ गरिएको छ । फिलिपिन्समा २२ हजार ४७४ जनामा संक्रमणको पुष्टि हुनुका साथै १ हजार ११ जनाको मृत्यु कोरोनाका कारण भएको छ ।
जोन हप्किन्स यूनिभर्सिटिका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ७१ लाख १९ हजार ४५४ पुगेको छ भने ४ लाख ६ हजार ५४० जनाको मृत्यु भइसकेको छ । एजेन्सी ।
हेल्थपाटी 
तपाईँको अभिमत