धुमपान गर्ने र वायु प्रदूषण प्रभावित कोरोनाको उच्च जोखिममा
संसारकै प्रदूषित राजधानीहरु मध्ये सातौंमा काठमाडौं रहेको जानकारी युरोपेली संस्था आइक्यू एयरले दिएको छ । बार्षिक औसत (पार्टीकुलेट्स म्याटर) पी एम–२.५ का आधारमा प्रदूषणको मापन गरिन्छ । नेपालमा तय भएको ४० माइक्रोग्रामको मापदण्ड भन्दा कयौं गुणा बढी हानीकारक पार्टीकुलेट्स म्याटर २.५ बातावरणमा भेटिन्छन् ।
वातावरणमा उत्सर्जित नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फरडाइ अक्साइड, नाइट्रेट सल्फेट, ओजोन, कार्बन, सायनायड, लीड सिसा, बेन्जिन लगायतका धातु तथा हावामा हानीकारक धुलो, धुँवाका कण मिसिदा वायुमण्डल प्रदूषित हुन पुग्छ ।
पीएम १० को आकार पीएम २.५ भन्दा चार गुणा ठुलो हुन्छ । पीएम १० को मात्रा २४ घण्टामा १ सय २० प्रति घन मिटरसम्म हुनुपर्नेमा हाम्रो वायुमण्डलमा कयौं गुणा बढी मापन भएको भेटिन्छ । उपत्यका लगायतका स्थानमा अव्यवस्थित शहर विकास, संरचना पूननिर्माण, सडक, ढल, अव्यवस्थित निर्माण, मेलम्ची खानेपानी आयोजनाको निर्माण, फोहोरजन्य पदार्थको अव्यवस्थित उत्सर्जन,पुराना इन्जिन भएका साधन चलिरहनु, हरियाली र सफाइको बिनास हुँदै जानु, इट्टा–भट्टा, सिमेन्ट लगायतका कलकारखानाबाट निस्कने फोहोर र धुँवाको उपयुक्त उत्सर्जन नहुनुका कारणले पनि वायु प्रदूषणमा भूमिका खेलेका छन् ।
केही महिनादेखि शुरु भएको बन्दाबन्दीको अवधीलाई हेर्यौ भने उपत्यका माथिको आकाश स्वच्छ देखिनुले पनि सवारी साधनको बातावरणीय प्रदूषणमा भएको योगदान बुझ्न सकिन्छ ।
नेपाल बिज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान (नाष्ट)को अध्ययन अनुसार वायु मण्डलको धुलो परीक्षण गर्दा प्रतिग्राम धुलोमा औसत फलाम, जिंक, सिसा, निकेल र चातमा क्रमश ः४१३०, १२९, २०, १०.५ र ६.१ माइक्रोग्राम पाइएको थियो । यी सबै धातुहरु फोक्सोको श्वासनलीमा थिग्रदै गए फोक्सोको क्यान्सर हुनसक्छ ।
अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्यूटको इलोबल एअर अध्ययन प्रतिवेदन अनुसार घरबाहिर रहँदा सवारी साधन र उद्योगबाट निस्कने दुषित हावा तथा घरभित्र भएका बेला खाना पकाउँदा र आगो ताप्दा उत्सर्जन हुने धुँवाका कारण मानिसको आयू घटिरहेको छ ।
स्वास्थ्य अनुसन्धान परीषद् (एनएचआरसी) को अध्ययन अनुसार धूलो, धुँवाले मुटुको समस्या, खोकी, रुघा तथा घाँटीको खसखस, दम जस्ता समस्या बढाउँछ । २०७३ को प्रतिबेदन अनुसार फोक्सो र स्वासप्रस्वास सम्बन्धी रोगमध्ये ३९.४ प्रतिशत कारक वायुप्रदूषण भएको उल्लेख छ ।
एनएचआरसी अध्ययन अनुसार उपत्यकामा निमोनियाका २९.१ प्रतिशत, स्वासप्रस्वास सम्बन्धी गम्भिर प्रकृतिका रोगका १५.३ प्रतिशत, दमखोकीका ४.८ प्रतिशत बिरामीको मुख्य कारण दुषित हावा देखिएको थियो ।
फोक्सोको क्यान्सर, दीर्घ दम खोकी, मुटुरोग र पक्षघात(स्ट्रोक)मध्ये एक तिहाई वायु प्रदूषणका कारणले हुने गर्दछ । यो चुरोट सेवनको असरको प्रतिशत बराबर हो । घरभित्रका चूलो चौका, भान्सामा स्टोभ, ग्याँस आदिबाट र बाहिरका वातावरणीय प्रदूषणका कारणले निस्कने धुवाँमा मिसिएका रसायनका हजारौं प्रकारका कणले स्वास्थ्यमा असर गर्छन् ।
पीएम १० का कणहरु फोक्सोभित्र स्वासनलीबाट प्रवेश गर्छन् भने पीएम २.५का कणहरु फोक्सोमा प्रवेश गरि रक्तनलीहरुसम्म प्रवेश गरि रगतमा समेत असर गर्छन् । नाइट्रोजन डाइअक्साइड र सल्फरडाइअक्साइडले सी.ओ.पी.डी, ब्रोङकाइटीस, निमोनिया क्षयरोग जस्ता रोगलाई बढावा दिन्छन् । वायु प्रदूषणको असर मधुमेह जस्ता रोगलाई बढावा दिई शरीरको रोग प्रतिरोधात्मक शक्ति घटाएको अध्ययनले देखाएको छ ।
परिषद्ले सन् २०१८को जनवरीदेखि मे सम्म ५ महिना लगाएर गरेको अर्काे अध्ययनले काठमाडौं, ललितपुर र भक्तपुरमा मार्ने क्यान्सरका ७ सय २ जना नयाँ बिरामी फेला परेका थिए । नेपालमा औसतमा १ लाखमध्ये ३५ हजारको मृत्युको कारण वायु प्रदूषण रहेको तथ्यांक विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) को छ । संगठनले गत वर्ष जारी गरेको अध्ययन अनुसार निम्न र मध्यम आय भएका देशमा ५ वर्ष मुनिका ९८ प्रतिशत र उच्च आय भएका मुलुकका ५२ प्रतिशत बालबालिका वायु प्रदूषणको शिकार भएका छन् ।
प्रत्येक १० जनामध्ये ९ व्यक्ति प्रदूषित हावाको सास लिइरहेका छन् यो विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को तथ्यांक हो । विश्वमा ७० लाख मृत्यु प्रदूषित वायुका कारणले सृजित रोगहरुबाट हुने गर्दछ । प्रदूषित वायुका कारण गर्भवतीको पाठेघरमा विकास भइरहेको भ्रुणमा पनि असर पुगेको देखिएको छ । आँखा, नाक, कान, घाँटी, छालामा एलर्जी देखिन्छ । यस्तै वायु प्रदूषणको असर मानसिक र न्यूरोलोजीमा पनि देखिन्छ ।
यसका अलावा वायु प्रदूषणको सामाजिक, आर्थिक असरहरु समाजमा पनि प्रत्यक्ष पर्दछ । वायु प्रदूषणले फोक्सोमा चुरोटको धुँवा सरह नै असर गर्दछ । एक अध्ययन अनुसार काठमाडौंमा सेवामा खटिने ट्राफिक पनि उत्तिकै जोखिम छ ।
प्रदूषण बढी रहेका देशहरुमा कोभिड १९ को प्रकोप धेरै देखिएको छ । फिलिपिन्समा गरिएको एक अध्ययन अनुसार कोभिड १९ बाट भएका अधिकांश मृत्युहरुमा वायु प्रदूषणबाट भएका श्वासप्रश्वास रोगसंग सम्बन्धित थिए । इटालीमा गरिएको एक अध्ययनमा कोरोना भाइरस प्रदूषणका धुलोका कणमा भेटिएको थियो ।
उत्तरी इटालीको लोम्बार्दीमा नाइट्रोजन डाइअक्साइडको मात्रा अधिक भेटिएको थियो । वायु प्रदूषणका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्ने अनुसन्धानले देखाइसकेको छ । कोभिड १९ ले रोग प्रतिरोधात्मक क्षमता घटेका मानिसहरुमा बढी असर पुर्याउँछ । धुमपान र मद्यपान गर्नेहरुमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले त्यस्ता व्यक्तिहरुलाई कोरोना संक्रमण हुने जोखिम उच्च रहन्छ ।

अमेरिकाको न्यूयोर्कमा ३०८० जनामा गरिएको एक अध्ययन अनुसार वायुको प्रदूषणको प्रत्यक्ष सम्पर्कमा रहेकालाई कोभिड १९ का असरहरु बढी देखिएका छन् । तसर्थ बातावरणीय प्रदूषणका असरहरुबाट बच्न हामी स्वयम् र सरकारी तथा सामाजिक स्तरबाट पहल हुनु जरुरी छ । जस्तै ः सडकको धुलो नियन्त्रण, पुराना सवारी साधनको विस्थापन, इलेक्ट्रिक इञ्जिन भएका सवारी साधन सञ्चालन,फोहोर बाल्न प्रतिबन्ध,शहरमा फोहोरको उचित व्यवस्थापन र व्यवस्थित शहरीकरणमा ध्यान दिन जरुरी छ ।
इट्टा – भट्टा, सिमेन्ट लगायतका कलकारखाना तथा उद्योगबाट निस्कने फोहोर, धुलो, धुँवा लगायतका बिकार पदार्थको उचित उत्सर्जन, विकास निर्माणका काम गर्दा धुलो धुँवा उत्सर्जन न्यून गर्ने, मेचम्ची खानेपानी आयोजना लगायतका योजनाको उचित व्यवस्थापन, स्वच्छ हराभरा वातावरणयुक्त शहर निर्माणमा केन्द्रित हुनुपर्दछ ।
(लेखक त्रिवि शिक्षण अस्पतालका सह–प्राध्यापक एवं बरिष्ठ छाती रोग विशेषज्ञ हुनुहुन्छ।)
हेल्थपाटी
तपाईँको अभिमत