काेराेना परीक्षणका लागि आधुनिक पीसीआर मेशिन ल्याइने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग(कोभिड १९)को रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम गरिरहेको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो सरकारको कमजोरीका कारण कोरोना भाइरस आएको होइन विश्व नै महामारीबाट गुज्रिरहेको छ, कोरोना परीक्षणमा नेपालले राम्रो प्रगति गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले कोरोना परीक्षणको दायरालाई बढाउन थप नयाँ प्रविधियुक्त आधुनिक पीसीआर मेशिन ल्याउने बताउनुभयो । यसका लागि विभिन्न देशमा अर्डर दिइसकेको उहाँले बताउनुभयो । दैनिक ५ हजारको परीक्षण भइरहेको बताउँदै उहाँले परीक्षण बढाउनका लागि तत्काल गर्न सक्ने सबै काम सरकारले गर्ने बताउनुभयो । छिटो छरितो ढंगबाट धेरैको परीक्षण गर्न मेशिन सहित किट ल्याउने तयारी भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
जेठ १८ गतेदेखि दैनिक ७ देखि १० हजार नेपाली भारतबाट भित्रिएको भन्दै जेठ महिनामा मात्रै २ लाख २२ हजार ६५४ नेपाली भित्रिएको जानकारी प्रधानमन्त्री ओलीले दिनुभयो । उहाँका अनुसार कोरोना प्रभावित देशबाट आएकालाई १४ दिन क्वारेन्टिनमा राख्नका लागि देशभर ३ हजार ७६७ स्थानमा २ लाख ३५ हजार ५ सय ९६ क्वारेन्टाइन बेडको व्यवस्था गरिएको र हाल ती क्वारेन्टाइनमा १ लाख ६५ हजार ७ सय ७५ मानिस बसिरहेका छन् ।
क्वारेन्टिन व्यवस्थापनमा लापरबाहीले नभई परिस्थितिले कठिनाई आएको भन्दै मापदण्ड अनुसार सञ्चालित रहे÷नरहेको सम्बन्धमा अनुगमन टोलि पठाइसकिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले केही दिनअघि संसदमा असार १५ गतेदेखि दैनिक १० हजारको पीसीआर परीक्षण गर्ने जानकारी संसदलाई गराउनुभएको थियो ।
नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ भने १५ जनाको मृत्यु भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत