नेपालमा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि दिन थालियो
विराटनगर । मोरङमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकाहरुलाई आयुर्वेदिक औषधि दिन थालिएको छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने आयुर्वेदिक औषधि संक्रमितलाई पहिलो पटक दिन थालिएको हो।
आयुर्वेद विभागले जारी गरेको प्रोटोकलअनुसार प्रदेश १ सरकारको निर्देशनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले उपचाररत रहेकै स्थानमा पुगेर संक्रमितलाई चार प्रकारका औषधि प्रदान गर्न थालेका छन्। औषधि वितरणका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. रवीन्द्र निरौला र केन्द्रका बरिष्ठ कविराज निरीक्षक रवीन्द्र मेहतालाई खटाइएको छ।
आयुर्वेदको स्वास्थ्य जीवन कार्यक्रममार्फत संक्रमितलाई सेवन गर्ने तरिका सिकाउँदै धमाधम औषधि वितरण गर्ने काम भइरहेको केन्द्रले जनाएको छ।
पहिलो चरणमा सुन्दरहरैंचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टरमा उपचाररत रहेका ५९ जनालाई औषधि दिइसकिएको कविराज निरीक्षक मेहताको भनाइ छ। उहाँका अनुसार संक्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, यष्ठिमधु चूर्ण र जडिबुटी चिया नामक औषधि दिइएको छ। सबै औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा विभिन्न खाले भाइरसको असर कम गर्दै लैजाने मेहताले जानकारी दिनुभयाे ।
उहाँका अनुसार यी सबै औषधि दैनिक पाँच / पाँच ग्राम दुई पटकसम्म प्रयोग गर्नु पर्छ। विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पनि औषधि वितरणको तयारी भइरहेको उनले जानकारी दिनुभयाे। संक्रमित बाहेक कोरोनाविरुद्ध अग्रभागमा उभिने र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पनि यी औषधि वितरणको तयारी भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।
मेहताका अनुसार भारतका धेरै ठाउँमा आयुर्वेदिक औषधि सफल भएपछि नेपालमा पनि प्रयोग गर्न थालिएको हो। ‘आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरभित्र असर गर्ने कोरोना भाइरसबाहेक विभिन्न किसिमका सुक्ष्म जीवाणुलाई मार्छ,’ उहाँले भन्नुभयाे, ‘तर अहिलेसम्म कोरोना भाइरसलाई भने नष्ट गरेको पुष्टि भइसकेको छैन।’ मेहताले आयुर्वेदिक औषधि नियमित सेवन गर्नाले कुनै खराब असर नगर्ने र बाहिरी भाइरसले भने शरीरमा आक्रमण गर्न नसक्ने उल्लेख गर्नुभयाे।
तपाईँको अभिमत