कोरोनाले ६ सय नर्सको मृत्यु, २ लाख ३० हजार स्वास्थ्यकर्मी संक्रमित
नर्स तथा स्वास्थ्यकर्मीकाे तथ्यांक राख्न आइसीएनकाे आग्रह

कोरोना संक्रमितकाे उपचार गर्दै एक नर्स
काठमाडौं । कोरोना भाइरस रोग (कोभिड १९) को महामारी सुरु भएयता ६०० भन्दा बढी नर्सको मृत्यु कोरोना संक्रमणबाट भएको छ । नर्सहरुको अन्तराष्ट्रिय परिषद् (आइसीएन) ले संसारका केही देशका राष्ट्रिय नर्सिङ संघ, सरकारी तथ्यांक, सञ्चारमाध्यमले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म ६०० भन्दा बढी नर्सको मृत्यु भएको जनाएको छ ।
मृत्यु भएका नर्सहरुमा कोरोनाको उपचारमा अग्र स्थानमा रहेकाहरु छन् । आइसीएनका अनुसार २ लाख ३० हजार स्वास्थ्यकर्मीलाई संक्रमणको पुष्टि भएको छ । यद्यपी प्रणालीगतरुपमा तथ्यांक नराखेकाले विश्वमा कोरोना पोजेटिभ पुष्टि भई उपचार गराइरहेका र संक्रमणबाट मृत्यु भएका नर्सहरुको संख्या यति नै हो भनेर भन्न सकिने अवस्था नरहेको आइसीएनको भनाई छ । सरकारलाई नर्स तथा स्वास्थ्यकर्मीकाे तथ्यांक राख्न आइसीएनले आग्रह गरेको छ ।
आइसीएनका कार्यकारी प्रमुख हाउवार्ड कटनले प्रत्येक राज्यले नर्स सहित स्वास्थ्यकर्मीको प्रष्ट तथ्यांक राखी अनुगमन प्रणालीको विकास गरि उनीहरुको समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन आग्रह गर्नुभएको छ । एकीन तथ्यांक बिना स्वास्थ्यकर्मीमाथि भइरहेको यौनहिंसा, दुर्व्यवहार सहित मानसिक स्वास्थ्यका विषयमा थाहा नहुने भएकाले स्पष्ट तथ्यांक राख्न उहाँले माग गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई मिडवाइफ र नर्स वर्ष मनाइरहेको छ तर सोही वर्षनै बिरामीको सेवा गर्दा मृत्यु हुने नर्सको संख्या बढिरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत