छिर्केमिर्के लामखुट्टे जसले दिउँसै टोक्दा लाग्छ डेंगी
डेंगी छोटो समयमा संक्रमण फैलने भाइरल रोग हो र यसको संक्रमण भएमा अधिंकासलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ ।
काठमाडौं । नेपालमा पहिलो पटक १६ वर्ष पहिले सन् २००४ मा नेपालगञ्जको बाँकेमा डेंगी रोगको संक्रमण देखिएको थियो । त्यसपछि प्रत्येक वर्ष कुनै न कुनै जिल्लामा यसको संक्रमण देखिन थाल्यो । सन् २०१० मा पहिलोपटक यसले महामारीको रुप लियो,त्यतिबेला ९१७ संक्रमित भएकामध्ये ५ जनाको मृत्यु भयो ।
विगत २ / ३ वर्षयतादेखि डेंगीले फेरि महामारीको रुप लिदै गएको छ । गत वर्ष महामारीको रुप लिई ६८ जिल्लामा फैलिएको डेंगीले ६ जनाको मृत्यु भयो भने १६ हजार व्यक्ति संक्रमणबाट बिरामी भए । नेपालमा डेंगीको प्रकोप विशेषगरि बैशाख देखि मंसिर महिनासम्म देखिने गरेको छ ।
गएको पुस देखि हालसम्म विभिन्न २६ जिल्लामा ८२ जनालाई डेंगीको संक्रमण भएको छ । जसमा रुपन्देहीमा सबैभन्दा धेरै ३५ जनालाई संक्रमण भएको छ । म्याग्दीमा १२, कास्कीमा १०, काठमाडौंमा ७, ललितपुरमा ४, सुनसरीमा ४, मोरङमा ३, कपिलवस्तुमा ३, बाग्लुङ, रामेछाप, नुवाकोट, कैलाली, नवलपरासी पश्चिम र धनुकटामा २÷२ जना, पाल्पा, मकवानपुर, गोरखा, तनहुँ, नवलपरासी ,दाङ, बाँके, डडेल्धुरा, झापा, उदयपुर, धादिङ र तेह्थुममा एक÷एक जनालाई गरि जम्मा ८२ जनालाई डेंगीको संक्रमण भइसकेको छ ।
डेंगी पनि कोरोना जस्तै एक प्रकारको भाइरसका कारण लाग्ने गर्दछ जसको कुनै खोप,औषधि तथा एन्टीभाइरल बनेको छैन त्यसैले सुरुवाती दिनमा नै सचेत भएमा यसबाट जोगिन सकिन्छ ।
वर्षाकाल सुरु भइसकेकाले डेंगीको प्रकोपको सम्भावना उच्च रहेकाले लामखुट्टेबाट जोगिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले भन्नुभयो,डेंगी पनि कोरोना जस्तै एक प्रकारको भाइरसका कारण लाग्ने गर्दछ, छिर्केमिर्के रंगको ठुलो खालको एडीज जातको लामखुट्टेले टोक्दा डेंगी लाग्दछ जसको कुनै खोप,औषधि तथा एन्टीभाइरल बनेको छैन त्यसैले सुरुवाती दिनमा नै सचेत हुनुपर्दछ ।
क्वारेन्टाइन, घर तथा कामका लागि घर बाहिर जाँदा डेंगीको खतरा रहेको तथा यसका साथै अहिलेको समयमा कोरोनाका अलावा मलेरिया, डेंगी, सर्पदंश,झाडापखाला लगायतका ट्रपिकल तथा सरुवा रोग लाग्ने सम्भावना रहेकाले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । एक्कासी ३ देखि ५ दिनसम्म बेस्सरी ज्वरो आउनु, आँखाको गेडी दुख्नु, मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु , ज्वरो आएको बेला नाक र रक्तस्राव हुनु डेंगीका लक्षण रहेको भन्दै उहाँले त्यस्तो बेलामा चिकित्सकको परामर्श बिना कुनै पनि औषधि खान नहुने बताउनुभयो ।
पाण्डेका अनुसार डेंगी छोटो समयमा संक्रमण फैलने भाइरल रोग हो र यसको संक्रमण भएमा अधिंकासलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । यो मध्यमखालको लक्षण हो । केही बिरामीहरुमा सुरुमा शरीरमा डाबर जस्तो बिबिरा देखिन सक्छ । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाँ लगायत छालाबाट रक्तस्राब पनि हुनसक्छ । तर डेंगी हेमोजेरिक फिभर जसलाई गम्भिर अवस्था भनिन्छ यो अवस्थामा बिरामीको मृत्यु पनि हुन सक्छ तर समयमा नै उपचार भएमा निको हुन्छ ।
डेंगीको उपचारका लागि डायग्नोष्टिक किटको व्यवस्था रहेको उहाँले बताउनुभयो ।
डेंगीबाट संक्रमित व्यक्तिलाई कुनै लामखुट्टेले टोकेर त्यही लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने संक्रमण हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वमा ५ करोड मानिस डेंगीबाट संक्रमित हुन्छन् भने २ अर्ब ५० करोड मानिस जोखिममा छन् । यो रोग सार्ने लामखुट्टे ग्रामिण भेगमा भन्दा शहरी भेगमा बढी पाइन्छ ।
डेंगीको संक्रमण एडिज जातको लामखुट्टेले गराउँछ । डेंगीबाट संक्रमित व्यक्तिलाई कुनै लामखुट्टेले टोकेर त्यही लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने संक्रमण हुन्छ । थोरै पानी जम्ने ठाउँमा ठाउँमा पनि यो लामखुट्टे बढी सक्रिय हुने गर्दछ । जुन प्रायः कृत्रिम भण्डारण गरेर राखेको सफा पानीमा बस्छ र यसले प्रायः दिनमा टोक्ने गर्छ ।
खुट्टा र जीउमा सेतो चिन्हहरु हुन्छन् ती प्रायःमान्छेकै वरिपरि बस्न रुचाउने र टाढा–टाढासम्म जादैन
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाका अनुसार खुट्टा र जीउमा सेतो चिन्हहरु हुन्छन् ती प्रायःमान्छेकै वरिपरि बस्न रुचाउने र टाढा–टाढासम्म जादैन । खोप र औषधिका विषयमा धेरै परीक्षण र अध्ययन भएका छन् । अहिलेसम्म यसको औषधि वा खोपको विकास भएको छैन । तथापि, सुरुआती लक्षणको डेंगीलाई चिकित्सकहरुले सजिलै निको पार्न सक्छन् ।
यस्तो अवस्थामा यसको संक्रमण र महामारीबाट बच्ने सरल र उत्तम उपाय भनेको लामखुट्टेबाट बच्ने नै हो । स्थिर अवस्थामा रहेको पानी लामखुट्टेको लागि प्रजनन तथा विकास गर्नलाई सहयोग पुर्याउछ । त्यसैले हरेक वडा,टोलमा जनचेतना तथा लामखुट्टेका लार्भा र फूल नष्ट गर्ने काम बेलैमा गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
डेंगीबाट जोगिने उपायहरु :
१.घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।
२.टायर,फुटेका गिलास र कचौरा अथवा पानी जम्न सक्ने खालका कुनै पनि सामन जस्तै गमला,बोत्तलका बिर्काेहरु नराख्ने ।
३.घरनजिक कुनै पनि किसिमका झाडी राख्नुहुँदैन ।
४.लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्नुपर्छ ।
५.झ्याल–ढोकामा जाली राख्नुपर्छ ।
६.शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।
७.दिउसो सुत्दा पनि झुलको प्रयोग गर्नुपर्दछ ।
८.सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
९.आफ्नो घरवरिपिर मात्र नभई समुदाय, समाजलाई पनि सफा सुग्घर राख्न सहयोग पुर्याउने ।
तुलसा घिमिरे
तपाईँको अभिमत