डडेल्धुराकाे क्वारेन्टाइनमा एक महिलाको मृत्यु, स्वाब लिने तयारी

सांकेतिक तस्बिर
काठमाडौं । डडेल्धुराकोे गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी २३ वर्षकी महिलाको मृत्यु भएको छ । ति महिला श्रीमान्, ३ वर्ष र ६ महिनाको दुई जना छोराछोरीका साथ जेठ १८ गते भारतबाट आएकी थिइन् ।
हिजो राति ११÷१२ बजेतिर श्रीमानसँगै शौचालय गएकी महिला फर्किएर कोठामा आइनपुग्दै एक्कासी बेहोस भएपछि मृत्यु भएको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । महिलामा कोरोनाको कुनै पनि लक्षण नदेखिएको उहाँले बताउनुभयो ।
घटना राती अबेरको भएपनि आफुले बिहान ५ बजेमात्रै मृत्युको खबर थाहा पाएको र ट्रेसिङको लागि टोलि पठाइसकेको बताउनुभयो । सदरमुकामबाट घटना भएको क्वारेन्टाइन पुग्न करिव ३ घण्टा जति लाग्ने उहाँले बताउनुभयो ।
मृतक र उनका श्रीमान् र छोराछोरीको स्वाब लिने तयारी भएको प्रजिअ पन्तले जानकारी दिनुभयो । डडेल्धुरामा १३८ वटा क्वारेन्टाइनमा हाल ४ हजार ५२१ ज्ना मानिस बसिरहेको पनि उहाँले बताउनुभयो ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत