स्वास्थ्यकर्मीमाथि सामूहिक आक्रमण, टाउकोमा गम्भीर चोट
ट्रमा सेन्टरमा उपचार हुँदै

सांकेतिक फोटो
काठमाडौं । डोटीमा स्वास्थ्यकर्मीमाथि सामूहिक आक्रमण भएको छ । शिखर नगरपालिका–९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत २४ वर्षका अहेब रमेश कुवँरमाथि ३–४ जनाको समूहमा रहेका युवाले आइतबार कुटपिट गर्दा कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ ।
टाउकोमा गम्भीर चोट लागेका कुवँरलाई डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंको ट्रमा सेन्टर ल्याइएको छ । आज बिहान १० बजे ट्रमामा ल्याइएका कुँवरको आकस्मिक कक्षमा उपचार भइरहेको ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुन भेटवालले जानकारी दिनुभयो ।
जेठ १८ गते शिखर नगरपालिका– ७ को स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्यचौकी जाँदै गर्दा बाटोमा बसेका ३–४ जनाको समुहले लकडाउनको समयमा कोरोना सार्नका हिडेको भन्दै अहेव कुँवर माथि ढुंगाप्रहार गर्दा टाउकोमा गम्भिर चोट लागेको आफन्त चेत बहादुर कुँवरले बताउनुभयो ।
शिखर नगरपालिका– ७ बोगटाका नविन खत्री, रोशन खत्री र तेज लुहारलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको डोटी प्रहरीले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत