बरियता मिचेर आईओएमको डीनमा प्रधानमन्त्रीकी निजी चिकित्सक सिंहलाई नियुक्त गरिँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा.दिव्या सिंह शाहलाई नियुक्त गर्ने तयारी भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला रोग विशेषज्ञ रहनुभएकी सिंहलाई प्रधानमन्त्री ओलीको सिफारिसमा डीनमा नियुक्त गर्ने तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटाले डाक्टरहरुसँग भएको एक भेटमा यसबारे खुलाउनु भएको स्रोतले जानकारी दिएको छ। उपकुलपति प्रा.डा बाँस्कोटाले प्रधानमन्त्री ओलीले आफ्नो निजी चिकित्सक प्रा.डा.सिंहलाई डीन बनाउन सिफारिस गर्नुभएको र त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीप्रति आफू उत्तरदायी रहेको बताउनुभएपछि आईओएमका चिकित्सकहरुले विरोध सुरु गरेका छन् ।
आईओएममा कार्यरत चिकित्सकहरुले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पहुँचका आधारमा नियुक्ती गरिँदै जाने हो भने शिक्षण अस्पताल झन्–झन् धरासयी हुँदै जाने भन्दै असन्तुष्टि जनाएका छन्। प्रा.डा.गोविन्द केसीको अनसनबाट स्थापित सिनियर फ्याकल्टीहरु यस संस्थाका प्रमुख चयन हुँदै आएको भन्दै अबको डिन नियुक्तीमा पनि सोही प्रणाली अवलम्बन हुनुपर्ने उहाँहरुको भनाइ छ ।
चिकित्सा आयोग स्थापना, राष्ट्रिय चिकित्सा ऐन बनाउनु तथा वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति हुनु डा.केसीको आन्दोलनका उपलब्धी रहेको र स्थापित मूल्य र मान्यता अनुसार नै अघि बढ्नुपर्ने आईओएमका चिचित्सकहरुको अडान छ ।
डा. केसीकै अनसनले पहुँचको आधारमा हुने नियुक्तिलाई रोक्यो पनि । त्रिविका वर्तमान उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटा आईओएमको डीनमा नियुक्त हुँदा चर्काे आन्दोलन भएपछि बरियताकै आधारमा हुनुपर्छ भनी ४ दिनमा नै उहाँले राजीनामा दिनुभएको थियो । सो आन्दोलनमा प्रा.डा दिव्या सिंह पनि सहभागी हुनुभएको थियो ।
डा.केसीको आन्दोलनमा अग्र स्थानमा रही समर्थन जनाउँदै डा. सिंहले पे्रस बुलेटिन निकाल्नु हन्थ्यो । अनसनमा बसेको बेला डा.केसीको उपचार पनि सिंहले नै गर्नुहुन्थ्यो । तर अहिले केसीको आन्दोलनको उपलब्धी विपरित पहुँचका आधारमा आफैं डीन नियुक्त हुन लाग्नुभएको छ ।
वर्तमान डीन प्रा.डा.जगदीश अग्रवालको कार्यकाल यही जठ २२ गते सकिँदैछ । ‘नयाँ डीन चयनका लागि ३ सदस्सीय सर्च कमिटी बनाउने र सोही कमिटीको सिफारिसमा डा.सिहलाई नै डीनमा नियुक्त गर्ने तयारी भएको छ’ स्रोत भन्छ । प्रक्रियापूर्वक नै नियुक्त गरिएको देखाउन सर्च कमिटी बनाउन लागिएको हो । बरियताका आधारमा नियुक्ती गर्दा सर्च कमिटी आवश्यक नपर्ने र त्रिवि ऐनमा कहीँ पनि कमिटीको सिफारिसमा मात्रै डीन नियुक्त हुने भनी नलेखिएको स्रोतको दाबी छ ।
बरियताका आधारमा नियुक्त गर्ने हो भने २०६५ साल असोज २९ गते प्राध्यापकमा बढुवा हुनुभएका प्राध्यापकहरु ग्यास्ट्रो सर्जन प्रा.डा. प्रदिप बैद्य, प्रा.डा वाइपी सिंह तथा प्रा.डा शुसिलकुमार शिल्पकार अग्र स्थानमा हुनुहुन्छ । २०६५ कार्तिक १ गते बढुवा हुनुभएका प्रा.डा दिपक महरा दोस्रो पंक्तिमा हुनुहुन्छ भने २०६५ चैत १९ गते नियुक्त हुनुभएका मुटुरोग विशेषज्ञ प्रा.डा भगवान कोइराला र प्लाष्टिक सर्जन प्रा.डा ईश्वरचन्द्र लोहनी तेस्राे पक्तिमा हुनुहुन्छ ।
२०७१ असोज २ गते बढुवा हुनुभएका अर्थाेपेडिक विशेषज्ञ प्रा.डा.रोहित पोखरेल र दिव्यासिंह चौथो पंक्तिमा हुनुहुन्छ । आईओएममा बरिष्ठ प्रा.डा हुँदाहुदै पहुँचका आधारमा नियुक्त गरिन लागेको भन्दै आइओएमकै चिकित्सकहरुले विरोध जनाइरहेका छन् ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत