बेलायतमा जस्तै नेपालमा पनि एक पटक मात्र कोरोना परीक्षण
विश्व स्वास्थ्य संगठनका अनुसार २१६ वटा देशमा गरि ६० लाख १६ हजार ९७६ जनालाई कोरोना भाइरस रोग (कोभिड १९) को संक्रमणको पुष्टि भइसकेको छ भने ३ लाख ७० हजार १५३ जनाको मृत्यु भइसकेको छ । संक्रमणबाट अतिप्रभावित देशमध्ये भारत सातौमा रहेको जोन हप्किन्स यूनिभर्सिटीले जनाएको छ ।
नेपालमा पनि दिनका दिन संक्रमित थपिएको थपिएै छन् । संक्रमणको नियन्त्रणका लागि व्यवस्थित क्वारेन्टाइन, परीक्षण, आइसोलेसन र उपचार अति नै महत्वपूर्ण छ । नेपालमा संक्रमण बढ्दै गएपछि सरकारले एक व्यक्ति एक परिक्षणको रणनीति लिने भएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार परीक्षणको दायरा बढाउनका लागि डिस्चार्ज हुनेबेला पीसीआर परीक्षण नगर्ने अर्थात संक्रमण पत्ता लगाउन गरिने एक पटकको परीक्षण मात्रै गर्ने तयारी भएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.बासुदेब पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिला थोरैलाई मात्र संक्रमण देखिएकाले पटक–पटक परीक्षण गर्दै नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिदै आएकोमा अब संक्रमण पुष्टि भएपछि आइसोलेनमा राख्निे तथा आवश्यक उपचार गर्ने र लक्षण हराएपछिको ३ दिनमा डिस्चार्ज गरिनेछ ।
यस्तो अभ्यास नेपालमा मात्रै होइन बेलायत,अमेरिका लगायतका विकसित देशमा एक व्यक्ति एक परीक्षणको रणनीतिमै चलिरहेको महिना बितिसकेको छ । हामीले बैशाख १३ गते कोरोना नियन्त्रणका लागि बेलायतमा भइरहेको अभ्यासका विषमा बेलायतको क्विन एलिजावेथ अस्पताल,लण्डनका वरिष्ठ व्यवस्थापक तथा आर्डेन विश्वविद्यालय लण्डनमा स्वास्थ्य व्यवस्थापन विषयको सह–प्राध्यापकको रुपमा कार्यरत डा.बच्चुकैलाश कैनीसंग कुरा गरेका थियौ ।
अहिले उहाँकी श्रीमति यशोदा कैनी कोरोनामुक्त भई काममा फर्किसक्नुभएको छ । आज हामीले समय सान्दर्भिक रहेकाले बैशाख १३ गतेको प्रकाशित सामग्रीको केही अंश प्रकाशित गरेका छौं ।
डा.बच्चुकैलाश कैनी २००५ मा बेलायत जानुभएको थियो र त्यसताका देखिनै सरकारी अस्पताल क्विन एलिजावेथमा कार्यरत हुनुन्छ । त्यसअघि नेपालमा उहाँले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १० वर्ष काम गर्नुभएको थियो । उहाँकी श्रीमति यशोदा कैनी डार्टफोर्डमा रहेको लिभिङस्टोन अस्पतालमा प्रशाशन विभागमा कार्यरत हुनुन्छ र उहाँलाई कोरोनाको संक्रमण भई घरमै आइसोलेसनमा उपचाररत हुनुन्छ ।
आज हामीले कोरोना विरुद्ध बेलायत कसरी अघि बढिरहेको छ, त्यहाँ उपचार प्रणाली कस्तो छ ? लगायतका विषयमा क्विन एलिजावेथ अस्पताल, लन्डनका वरिष्ठ व्यवस्थापक तथा आर्डेंन विश्वविद्यालय लन्डनमा स्वास्थ्य व्यवस्थापन विषयको सह–प्राध्यापकको रुपमा कार्यरत डा. कैनीसंग कुरा गरेका छौ ।
बेलायतमा कोरोना संक्रमितलाई औषधि उपचारको अवस्था कस्तो छ ?
बेलायतमा करिव ८५ प्रतिशत कोभिडका बिरामीहरु घरमा नै बसेर उपचार गर्ने गर्दछन् । सामान्य अवस्थामा उनीहरु घरमा नै आइसोलेसनमा बस्नुपर्ने सरकारको नियम छ । मेरी श्रीमतिलाई पनि कोरोना संक्रमण भएको छ । उहाँको अवस्था सामान्य छ । उहाँ र हामी एउटै घरमा नै आइसोलेसनमा बसिरहेका छौ मैले नै श्रीमतीको स्याहार–सुसार गरिरहेको छु ।
मास्क लगाएर हामी एउटै कोठामा भौतिक दुरी कायम गरि बस्छौ । हामीले जे खानेकुरा खान्छौ त्यही खानेकुरा नै श्रीमतिले खान्छिन् । हामी कसैलाई पनि लक्षण देखिएको छैन ।
घरमा नै संक्रमितको हेरचाह गर्दा सुरक्षा कसरी अपनाउनुपर्छ ?
हामी छोरा छोरी सहित एउटै घरमा बस्छौ । हामी ४ जना १५ दिनदेखि आइसोलेसनमा बसिरहेका छौ । मेरी श्रीमतिलाई अप्रिल १९ मा कोरोना भएको पुष्टि भयो । हामी दुवै जना अस्पतालमा काम गर्ने भएकाले सुरु देखिनै आइसोलेसनमा रहेका थियौ । जब कोरोनाको पुष्टि भयो एकदिन अस्पतालमा बसेर घर आयौ । म आफैले गाडीमा अस्पताल ल्याउने लाने गरेँ ।
अहिले घरमा नै चिकित्सकको सल्लाह अनुसार विशेष हेरचाहमा हुनुन्छ तर आत्तिनुपर्ने अवस्था छैन । आइसोलेसनमा रहँदा श्रीमतिको लागि छुट्टै ट्वाइलेट्को व्यवस्था छ । उहाँले प्रयोग गर्ने सामानहरु छुट्टा छुट्टै छन् । मास्क लगाएर हामी एउटै कोठामा भौतिक दुरी कायम गरि बस्छौ । हामीले जे खानेकुरा खान्छौ त्यही खानेकुरा नै श्रीमतिले खानुहुन्छ । हामी कसैलाई पनि लक्षण देखिएको छैन ।
लक्षण नदेखिएपनि तपाईहरुको पनि स्वाब परीक्षण भयो होला नी ?
अहँ । छैन । यहाँ लक्षण नदेखिएका कोही व्यक्तिको पनि परीक्षण गरिदैन । यसलाई यहाँको समस्या भनौ कि व्यवस्था । लक्षण देखिएपछि सुरुमा परिवारमा एक जनाको मात्रै परीक्षण हुन्छ । मेरी श्रीमतिलाई संक्रमण भएपछि हाम्रो पनि परीक्षण गर्न खोजेको लक्षण नभएपछि गरिएन । अरुको पनि त्यस्तै हो ।
नेपालमा मानिसहरु धेरै नै त्रसित छन्, श्रीमतिलाई संक्रमण भएपछि आफन्तहरुले फोन गर्नुभयो अनि मैले हामीसंगै नै बस्छौ भन्दा डराउनुभयो
परीक्षण नै नहुनु त खतरा होइन र ?
यहाँ धेरै अध्ययनहरु भए । यहाँको मान्यता के छ भने निश्चित अवधिपछि कोरोना भाइरसले संक्रमण गर्दैन,आफै निको भएर जान्छ । लक्षण देखिएपछि चिकित्सकको परामर्श लिने र सोही अनुसार परीक्षण गर्ने गरिन्छ । के कुरा ख्याल गर्नुपर्यो भने आफु सुरु देखिनै सुरक्षित हुनपर्यो । थुकको छिटाबाट संक्रमण हुने हो,थुकको छिटा अरुमा पर्न नदिन विशेष सुरक्षा अपनाउने र निश्चित भौतिक दुरी कायम राखेपछि त संक्रमण हुने कुरै भएन । स्वाब परीक्षण गर्नका लागि कि भने अस्पतालहरुमा अग्र पक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी हुनुपर्छ । बेलायतमा लक्षण नदेखिएका धेरैलाई परीक्षण नै भएको छैन र सबै संक्रमितलाई अस्पतालमा राखिदैन ।
त्यसो भए कुन कुन अवस्थामा संक्रमितलाई अस्पताल लगिन्छ ?
सर्वप्रथम यहाँ लक्षण नदेखिएका व्यक्तिलाई परीक्षण नै हुँदैन । लक्षण देखि सकेपछि मात्र परीक्षण हुन्छ । सामान्य लक्षण देखिएका व्यक्तिहरुलाई अस्पतालमा उपचार गरिदैन । गम्भिर अवस्था अथवा अक्सिजन दिन पर्ने अवस्थाका विरामीलाई अस्पताल लगिन्छ । सम्पूर्ण श्वासप्रश्वास प्रणाली खराव भई भेन्टिलेटरमा राख्नुपरेमा अस्पताल आउन निर्देशन जारी गरिएको छ । नत्र भने घरमा नै चिकित्सकको परामर्श अनुसार आफैले उपचार गर्ने हो ।बेलायतमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई तीन वर्गमा वर्गीकरण गरिएको छ । पहिलो हो, ‘माइल्ड केस’ ।
डा.बच्चुकैलाश कैनीश्रीमतिसंग

माइल्ड केसमा ज्वरो आएका, रूघाखोकी लागेका, शरीर कमजोर भएका, खाना नरूचेका, पखाला लागेका, खानाको स्वाद थाहा पाउन छाडेका बिरामी पर्छन् । बेलायतको स्वास्थ्य निर्देशिकाले यस्ता बिरामीलाई चिकित्सकको परामर्श लिएर घरमै आइसोलेसनमा बस्न अनुरोध गरेको छ । उनीहरूले डाक्टरसँग परामर्श गर्न सरकारले उपलब्ध गराएको नम्बर १११ मा फोन गर्न सक्छन् । बिरामीले स्वास्थ्यसँग सम्पूर्ण कुरा डाक्टरलाई बताउन सक्छन् ।
दोस्रो अवस्थालाई ‘सिभियर केस’ भनिन्छ । यस्ता बिरामीलाई अक्सिजन दिनुपर्छ । उनीहरूको श्वासप्रश्वासमा समस्या भएको हुन्छ । बिरामीलाई अस्पतालमा राखेर अक्सिजन दिइन्छ । उनीहरूको उपचार आइसोलेसन वार्डमा राखेर गरिन्छ । जुन बिरामीको उपचार भेन्टिलेटरमा राखेर गर्नुपर्छ, त्यो क्रिटिकल केस हो ।
बेलायतको कुरा गर्ने हो भने, ‘माइल्ड केस’ का बिरामीहरू घरमै आइसोलेसन बसेका छन् । त्यसरी आइसोलेसनमा बस्नेहरू असीदेखि पचासी प्रतिशत छन् । उनीहरू ज्वरो घटाउन सिटामोल खान्छन् । पोसिला खानेकुरा उनीहरूको प्राथमिकतामा पर्छ । श्वासप्रश्वासमा समस्या देखिए मात्रै डाक्टरसँग परामर्श लिएर अस्पताल पुग्छन् ।
मानिसहरु कत्तिको आतंकित छन् ?
खासै छैनन् । संक्रमण देखिएपछि पनि उनीहरु घरमा नै बसिरहेका हुन्छन् यसको मतलव त्रास केही कम छ । चिकित्सकको सल्लाह अनुसार समय समयमा औषधि लिदा निको हुन्छ भन्ने मानसिकता छ । कोरोना निको हुन्छ र सामान्य दैनिकीमा फर्कन सकिन्छ भन्ने छ । त्यस्तै भइरहेको पनि छ । नेपालमा मानिसहरु धेरै नै त्रसित छन्, श्रीमतिलाई संक्रमण भएपछि आफन्तहरुले फोन गर्नुभयो अनि मैले हामीसंगै नै बस्छौ भन्दा डराउनुभयो । नेपालमा त निको भएकाहरुको वरपर बस्न पनि डराएको अवस्था छ भन्नुभयो म छक्क परेँ ।
कोभिड लागेपछि मरि हालिन्छ भन्ने सोचको हावी भएको छ तर कोभिडको उपचार सम्भव छ र मृत्यु हुनेको तुलनामा निको हुनेको संख्या धेरै छ । म के अनुरोध गर्दछु भने थुकको छिटाबाट संक्रमण सर्ने र निश्चित अवधिसम्म मात्रै संक्रमण हुने अनुसन्धानहरुले देखाएकाले डराउनुपर्दैन । तर सचेत भने हुनुपर्दछ । भौतिक दुरी कायम राख्नुपर्छ । साबुन पानीले हात धोइरहनुपर्यो,मास्क लगाउन पर्यो ।
एक जना बिरामीको मृत्यु भयो तर उहाँलाई कोरोना संक्रमण भएको रहेछ पछि मात्रै थाहा भयो । सुरु देखि नै कोभिडको मात्र बिरामी जाँच नगर्ने भएकाले अस्पतालमा पीपीई नलगाई काम गर्यौ ।
उपचारका क्रममा संक्रमितहरुको कति पटक सम्म स्वाब परीक्षण गरिन्छ ?
एउटा निश्चित चरण पार गरेपछि भाइरसले संक्रमण गर्दैन भन्ने अभ्यासका आधारमा बेलायत चलिरहेको छ । लक्षण देखिन छाडेपछि निको भएको ठानिन्छ । त्यसैले यहाँ भाइरस रहेको÷नरहेको थाहा पाउन सुरुमा जम्मा एक पटक मात्रै परीक्षण गरिन्छ । त्यसपछि गरिदैन । घरमा बसेरै उपचार गर्ने हो,अस्पतालमा जान पर्ने अवस्थामा भए अस्पताल जाने हो । निगरानीमा बस्ने हो । लक्षणहरु घट्दै गएपछि निको हुन्छ भन्ने हो ।
मैले अहिले सम्म थाहा पाए सम्म सबैलाई यस्तै गर्ने हो । श्रीमतिलाई अफिसबाट म्यानेजरले लक्षण के छ ? कहिलेबाट काममा आउन सकिन्छ भनेर फोन गर्नुभएको थियो । खोकी लागिरहेकाले अब २–३ दिनमा काममा फर्कन सक्छिन्की भन्ने अनुमान छ । उहाँलाई पनि एक पटक मात्रै हो परीक्षण भएको । र बेलायतमा अहिलेसम्म र्यापिड टेस्टको अभ्यास भएको छैन ।
आफ्नो विभागिय प्रमुखलाई जानकारी गराउनुभयो र उपचारका लागि रिफर गर्नुभयो तर रिफर गरेको ४ दिनपछि मात्रै स्वाब परीक्षण भयो ।
श्रीमतिलाई कोरोना संक्रमण कसरी भयो ?
अब ठ्याक्कै यसरी नै भयो भन्न गाह्रो छ । हामी दुबै जना अस्पतालमा काम गर्छाै । मेरी श्रीमति काम गर्ने सामुदायिक अस्पताल हो । यहाँ सबै किसिमका बिरामीको जाँच हुने गर्छ । सोही क्रममा एक जना बिरामीको मृत्यु भयो तर उहाँलाई कोरोना संक्रमण भएको रहेछ पछि मात्रै थाहा भयो । सुरु देखि नै कोभिडको मात्र बिरामी जाँच नगर्ने भएकाले अस्पतालमा पीपीई नलगाई काम गर्यौ । अस्पतालमा काम गर्ने भएकाले त्यहीबाट संक्रमण भयो कि भन्ने अनुमान छ त्यस अस्पतालमा अरु संक्रमितहरु थपिए । म सहित छोराछोरी कसैलाई पनि कुनै लक्षण देखिएको छैन र हामी आत्तिएका पनि छैनौ ।
लक्षणहरु देखिएका थिए ?
अप्रिल ९ मा ज्वरो आएको थियो त्यही बेलामा नै हामीले स्वास्थ्यमा केही गडबड भएको छ भन्ने अनुमान लगायौं, सामान्य ज्वरो आएको थियो, गम्भिर किसिमका लक्षण देखिएको थिएन । काममा निरन्तर गइरहनुभयो । तर त्यसको ३–४ दिनमा खोकी लाग्न सुरु भयो,ज्वरो बढ्यो,सास फेर्न केही अहसज भए जस्तो भयो र पखाला पनि लाग्यो । अनि त्यसपछि मेरी श्रीमतिले आफ्नो विभागिय प्रमुखलाई जानकारी गराउनुभयो र उपचारका लागि रिफर गर्नुभयो तर रिफर गरेको ४ दिनपछि मात्रै स्वाब परीक्षण भयो । लक्षण देखिएको १० दिनपछि कोरोनाको पुष्टि भयो ।
नेपालमा संक्रमण नियन्त्रणका लागि भइरहेको काम कस्तो लागिरहेको छ ?
एकदम राम्रो छ । र्यापिड टेस्टमा धेरै केन्द्रित हुनुहुन्न भन्ने लाग्छ । मुख्य कुरा लकडाउन गर्नपर्ने थियो त्यो भइरहेको छ । तर लकडाउन भनेको त भित्र बस्ने हो नी । कुनै पनि बहानामा भीड गराइनु हुदैन । रोकथामका लागि भइरहेको काम राम्रो लागिरहेको छ ।
तुलसा घिमिरे
तपाईँको अभिमत