महिनावारीः बुझे वरदान, नबुझे "छाउगोठ" अभिसाप
प्रकृतिमा नारीलाई समक्ष बनाउने बाटो
अहिले पनि छाउपडि प्रथाकाे कारण "छाउगोठ" बस्नुपनर्ने बाध्यता छ । याे आधुनिक मानब सभ्यताकै लागी अभिसाप हाे ।
२८ मे अर्थात जेठ १५ गते विश्वभर ‘महिनावारी स्वच्छता दिवस’का रुपमा मनाइदैछ । सन् २०१३ मा ‘वास युनाईटेड’ नामक एक जर्मन गैर मुनाफामुलक संस्थाले यस दिवसको सुरुवात गरेको थियो । हरेक वर्ष २८ मे का दिन महिनावारीसँग सम्बन्धित समस्याहरुलाई निराकरण गर्दै विश्वभरका सबै महिला तथा बालबालिकाहरुलाई आफ्नो महिनावारी सुरक्षित, स्वच्छ र लज्जारहित बनाउनका लागि निम्ति सशक्त बनाउने दृष्टिकोणले यो दिवस मनाइन्छ ।
नेपालमा पनि प्रजनन स्वास्थ्य र किशोरी तथा महिलाहरुका लागि काम गर्ने विभिन्न संघसंस्थाहरुले महिनावारी स्वच्छता दिवसका अवसरमा महिला र बालबालिकाहरुलाई सरसफाई, स्वच्छता र महिनावारीका महत्वका बारेमा जागरण गराउँदै थुप्रै माध्यमबाट उनीहरुलाई साथ र सहयोग दिदैं आइरहेका छन् । अहिलेको कोभिड १९ को महामारीको बेलामा पनि महिनावारी नरोकिने भएकोले गर्दा सन् २०२० को महिनावारी स्वच्छता दिवस झनै व्यापकरुपमा मनाउनुपर्ने देखिन्छ ।
महिनावारी नै महिलाको प्रजनन क्षमताको सुरुवात मानिन्छ । त्यसकारण प्रजनन शक्ति राम्रो बनाउन पनि महिनावारीको समयमा स्वास्थ्यको ख्याल राख्नुपर्छ ।
यो अवस्थामा धेरै महिला र बालिकाहरु सरसफाई र शिक्षाका साधनहरुबाट वञ्चित छन् । तसर्थ, महिनावारी स्वच्छता दिवस सन् २०२० यो कार्य गर्ने समय हो भन्ने नारा तय गरिएको छ । महिनावारी अर्थात मासिक श्राव भनेको किशोरीहरुको शारीरिक वृद्धि विकासका क्रममा देखिने परिवर्तनका रुपमा योनीबाट रक्तश्राव हुनु हो । किशोरावस्थामा सुरु भएको यो प्रक्रिया महिलाको प्रजनन उमेरसम्म हुने गर्दछ । महिनावारीलाई नेपालका विभिन्न ठाउँहरुमा बेग्लाबेग्लै संज्ञा दिइएको छ ।
महिनावारी चक्रलाई प्रकृतिको ऋतुहरुसँग तुलना गरेर संस्कृतमा ऋतुधर्म भन्ने गरिन्छ । जसरी प्रकृतिका सबै ऋतुहरु उत्पादक हुँदैनन्, ठीक त्यसैगरी महिनावारी चक्रका सबै दिनहरु प्रजननयोग्य हुँदैनन् । त्यसकारण ऋतुसँग रोचक तरिकाले तुलना गरिएको छ । यस बाहेक, मासिक धर्म, र रजस्वला पनि भनिन्छ । समाजमा बुझ्न सजिलो हुने गरी थुप्रै नामहरु दिइएका छन् । जस्तै पर सरेको, नछुने भएको बाहिर भएको आदी ।
१० वटा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये ७ वटा महिनावारीसँग सम्बन्धित
स्वास्थ्य दृष्टिकोण
महिनावारी भनेको महिनावारी चक्रको रक्तश्राव हुने समय हो । प्रत्येक महिना प्रजनन क्षमताको प्रभावले अण्डकोषले एउटा अण्डा उत्पादन गर्छ र गर्भ रहनका लागि विर्यको पर्खाइमा बस्ने गर्दछ । अण्डा उत्पादन भइसकेपछि पाठेघरले अण्डाको लागि चाहिने उपयुक्त वातावरणको सृजना गर्न पाठेघरको भित्रि भागमा रक्तनलीको सहायताले एक सतहको निर्माण गर्दछ ।
केही दिन पछि अण्डाको सम्पर्कमा विर्य नआएको खण्डमा त्यस सतहमा रहेको रक्तनलीबाट रगत योनीमार्ग हुँदै बाहिर निस्किन्छ र पूर्णरुपमा रगत निस्किएर पाठेघर पहिले जस्तै हुन ४÷५ दिन लाग्छ । यही ४÷५ दिनको समयलाई महिनावारी भनिन्छ। महिनावारी सकिएको केही दिन पछि फेरी अण्डकोषले अर्को अण्डा उत्पादन गर्छ र उही प्रक्रिया दोहोरिन्छ । यो प्रक्रिया पुरा हुन २८ दिन अथवा एक महिना लाग्ने गर्छ । जसलाई हामी महिनावारी चक्र भन्छौं ।
महिनावारीको समयमा महिलाका प्रजनन अंगहरु अरु बेला भन्दा संवेदनशील भएका हुन्छन् । त्यसकारण महिलाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने जरुरी हुन्छ । नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ का अनुसार किशोरीहरुले चासो राखेको प्रमुख १० वटा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये ७ वटा महिनावारीसँग सम्बन्धित थिए । यसबाट पनि महिनावारीसँग सम्बन्धित ज्ञान र सचेतना नपुगेको देखिन्छ । हुन पनि महिलाहरुमा देखिने विभिन्न यौन तथा प्रजनन स्वास्थ्य समस्याका कारक महिनावारीका समस्या हुन्छन् ।
महिनावारीमा सबैभन्दा महत्वपूर्ण कुरा हो, स्वच्छता अर्थात सरसफाई । यस समयमा प्रजनन अंगहरु संक्रमणको जोखिममा सजिलै पर्न सक्ने भएकोले सरसफाईमा विशेष ध्यान दिनु जरुरी छ । महिनावारी हुँदा रगत सोस्न प्रयोग गरिने कपडा, प्याड नै संक्रमणका कारक बन्न जान्छन् । त्यसलै सही तरिकाले प्रयोग र व्यवस्थापन गर्नुपर्दछ ।
१. एक पटक प्रयोग गरेको कपडा प्याडलाई ४ घण्टापछि सफा कपडा प्याडले प्रतिस्थापन गर्नुपर्दछ ।
२. प्रयोग गरिसकेको कपडालाई राम्रोसँग साबुनपानीले धोएर घाममा सुकाउने र प्याडलाई पनि उचितढंगले व्यवस्थापन गर्नुपर्छ ।
३. शौचालय गएपछि हरेक पल्ट यौनागंलाई पानीले सफा गर्ने गर्नुपर्दछ ।
यी कुराहरुको पालना गरे संक्रमणको जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । त्यसैगरि अर्को महत्वपूर्ण कुरा हो पौष्टिक आहार । महिनावारीको समयमा रगत बग्नुको साथै पेट दुख्ने, ढाड कम्मर दुख्ने, वान्ता हुने, टाउको दुख्ने जस्ता शारिरीक समस्या देखिने भएकाले खानामा विशेष ध्यान पुर्याउनुपर्छ । आइरनयुक्त खाना जस्तै हरियो सागपात, फलफूल, प्रोटिनयुक्त खाना जस्तै गेडागुडी, मासु, अण्डाका साथै दुध, दही, मही र प्रशस्त पानी पिउनु जरुरी हुन्छ ।
अन्त्यमा शरीरलाई आराम पनि दिनुपर्छ । रक्तश्राव र दुखाइले गर्दा कमजोर महसुस हुने हुनाले मानसिक र शारिरीक रुपमा विश्राम लिन सके अझ फाइदाजनक हुन्छ । महिनावारी नै महिलाको प्रजनन क्षमताको सुरुवात मानिन्छ । त्यसकारण प्रजनन शक्ति राम्रो बनाउन पनि महिनावारीको समयमा स्वास्थ्यको ख्याल राख्नुपर्छ ।
सामाजिक दृष्टिकोण
नेपाली समाजमा महिनावारीलाई जाति, ठाउँ, भाषाका आधारमा विभिन्न नाम दिइएको छ र बुझाइ पनि बेग्ला बेग्लै छ । व्यवहारिक र सामाजिक रुपमा हेर्ने हो भने धर्म र संस्कृति अनुसार महिनावारीको समयमा पालना गर्ने सामाजिक मुल्यमान्यताहरु पनि फरक छन् । सामान्यतया, सगोलमा भन्नु पर्दा महिनावारी भएको समयमा महिलाहरुलाई नियमित कार्य गर्नबाट वञ्चित गराइन्छ ।
अछाम लगाएत सुदुरपश्चिमका छाउगोठमा बसेका थुप्रै महिलाहरु सर्पको टोकाइ, जंगली जनावरको आक्रमण, यौन हिंसाका शिकार
महिनावारीको समयमा परिवारका अन्य सदस्य भन्दा अलग्गै बस्ने, खाने र सुत्ने, अरुलाई छुन नमिल्ने, घरभित्र, भान्छामा पुजास्थान र सबैजना बसिरहेको ठाउँमा नजाने, पुरुष सदस्यहरुसँग नबोल्ने, पानीको मुहान नछुने, मन्दिर, पुजा तथा धार्मिक कार्यमा सम्मिलित नहुने, पुस्तक नछुने, स्कुल नजाने, दुधदही, मोही, घिउ जस्ता कुरा नखाने, फलफुल नखाने, प्रयोग गरेको कपडा कसैले नदेख्ने गरी सुकाउने, जस्ता विभिन्न खालका सामाजिक नियमहरुको पालना नेपालका अधिकाशं महिलाहरुले गर्नुपरेको छ ।
अहिले पनि छाउपडि प्रथाकाे कारण "छाउगोठ" बस्नुपनर्ने बाध्यता छ । याे आधुनिक मानब सभ्यताकै लागी अभिसाप हाे । अछाम लगाएत सुदुरपश्चिमका छाउगोठमा बसेका थुप्रै महिलाहरु सर्पको टोकाइ, जंगली जनावरको आक्रमण, यौन हिंसाका शिकार भएका समाचार हामीले धेरै सुन्ने गर्छौं । त्यस्तै सामाजिक कुरीतिले गर्दा महिला र बालिकाले भोग्नु परेका समस्या पनि थुप्रै छन् । अझै पनि धेरै बालिकाहरु महिनावारीको समयमा स्कुल जाँदैनन् । महिनावारीको समयमा अत्यन्त महत्वपूर्ण सरसफाई गर्नका लागि पर्याप्त पानी पाउँदैनन् । किनभने पानीको मुहान छनु वञ्चित गरिएको छ ।
छोरी महिनावारी हुँदा महिनावारीसँग सम्बन्धित ज्ञान दिनुको साटो धेरै जसो आमाबुवालाई छोरीलाई केही दिन कता राख्ने भन्ने चिन्ताले गाँज्न थाल्दछ । महिनावारी हुँदा बालिकालाई शारीरिक र मानसिक सहायता प्रदान गर्नुको साटो हाम्रो समाजको नियमले उसलाई परिवारका सदस्यहरुबाट नै टाढा राख्छ । पौष्टिक आहार चाहिने बेलामा कतिपय खानेकुरा खान दिइदैन । यस्ता मुल्यमान्यता र नियमहरुले गर्दा उल्टो मानसिक तनावको सृजना गर्छ ।
प्रकृतिमा महिनावारी कुनै नराम्रो कुरा होइन, बरु यो त जीवनको सुरुवात गर्न नारीलाई समक्ष बनाउने एक बाटो हो।
यी सामाजिक नियमहरु धेरै अगाडि बनाइएका थिए जतिबेला महिलाहरुले सरसफाई गर्नका निम्ति पानी पधेरो धेरै ढाटा थिए । अहिलेको जस्तो प्याड र भित्रि वस्त्रहरु जस्ता साधनको अभाव थियो । त्यसबेलाको लागि यि नियमहरु ठीक थिए । तर अहिले समय धेरै परिवर्तन भइसकेको छ । हामीसँग जस्ता पनि स्रोतसाधनहरु छन्। जसले गर्दा हामी सरसफाई कायम गर्न सक्छौं । यो परिवर्तनको बेलामा हामीले यस्ता नियमहरु पनि परिवर्तन गर्दै लैजानुपर्दछ ।
महिनावारी सम्बन्धी शिक्षा र जागरण दिनु आवश्यक छ किनभने बालिकाहरुको मनोबल उच्च बनाउने नै ज्ञान र भावानात्मक साथले हो । नारीलाई देवी समान मानेर पुजा गर्ने समाज नै अरु कसैले आफ्नो सजिलोका निम्ति बनाएका नियमहरुको पालना गर्दै उल्टै दुःख भोगिरहेको छ । अछाम र बाजुरा लगायतका जिल्लाका थुप्रै छाउगोठ त हामीले भत्कायौं, तर मानसिकतामा बुनेको छाउगोड कहिले भत्काउने ?
प्रकृतिमा महिनावारी कुनै नराम्रो कुरा होइन, बरु यो त जीवनको सुरुवात गर्न नारीलाई समक्ष बनाउने एक बाटो हो। महिनावारीका समयमा भोग्नु परेका दुःख र पाउनु पर्ने सुविधाबाट वञ्चित हुँदा बालिकाहरु र महिलाहरुमा शारीरिक मात्र होइन मानसिक तनाव सृजना हुन्छ।यस्तो समयमा बालिकाहरुको मनोबल उच्च राख्नु महत्वपूर्ण हुन्छ। त्यसका लागि महिनावारी बारे ज्ञान र परिवारका सदस्यको साथ पर्याप्त हुन्छ । यो सँगै स्वच्छतालाई पनि उतिकै महत्व दिएर महिला तथा बालिकाहरुको स्वास्थ्य सबल बनाउन सक्यौं भने यो हाम्रो लागि परिवर्तन तर्फको एक ठूलो फड्को हुनेछ।
हेल्थपाटी
तपाईँको अभिमत