विदेशमा समस्यामा परेका नेपालीको उद्दार गर्न सरकारलाई ध्यानाकर्षण
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना भाइरस राेग (कोभिड–१९) का कारण विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । यसका लागि सरकारले कुटनीतिक पहलका साथै अन्य आवश्यक तयारीहरु गरिरहेको उहाँको भनाइ छ ।
नेकपा काठमाडौं क्षेत्र नम्बर १ का इन्चार्ज अनिल शर्मा नेतृत्वको टोलीले बुधबार परराष्ट्र मन्त्रालयमा यसबारे ध्यानाकर्षण गराएपछि मन्त्री ज्ञवालीले यस्तो जानकारी दिनुभएकाे हाे । भेटका क्रममा शर्माले काठमाडौंसहित देशैभरबाट हाल अध्ययन तथा रोजगारीको सिलसिलामा विदेशमा पुगेका कतिपय नागरिकमा समस्या परेकाले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउनुभएकाे थियाे।
सो क्रममा मन्त्री ज्ञवालीले नागरिककाे समस्याबारे सरकार जानकार रहेको र उनीहरुको समस्या समाधानमा लागिपरेका जनकारी दिनुभयाे । अध्ययन एवम् रोजगारीको सिलसिलमा जापान, अस्ट्रलेलिया, क्यानडा, अमेरिकासहित युरोपियन मुलुकमा पुगेकाहरुलाई प्राथमिकतामा आधारमा उद्दार गर्ने तथा बाँकीलाई एक वर्षसम्मको भाडा छुट गरिदिनका लागि कुटनीतिक तबवरबाट सम्बन्धित देशसँग कुराकानी भइरहेको समेत उहाँले बताउनुभयाे ।
विद्यार्थीको लागि फीलगायतको समस्या भएको गुनासो आएकाले सो समस्या समाधानका लागि विभिन्न उपाय खोजिएको उहाँले बताउनुभयाे। जसमध्ये नेपालबाट खर्च पठाउन सहज गर्ने, विदेशमै पनि तत्काल फी तिर्न नपर्ने व्यवस्था गरिदिन पहल गर्नैजस्ता कार्य भइरहेको उहाँको भनाइ छ ।दक्षिण कोरियामा कार्यरतहरु कतिपयको भिसाको म्याद सकिएको अवस्थामा उनीहरुलाई स्वदेश ल्याउनका लागि प्राथमिकतामा राखिएको पनि मन्त्री ज्ञवालीले बताउनुभयाे ।
यस्तै खाडीमा पुगेका युवाहरुका लागि रोजगारी, राहत, उपचार र फिर्ता ल्याउने विषयमा छलफल भइरहेको भन्दै उहाँले समस्यामा नै परेकालाई सरकारले स्वदेश नै फर्काउने बताउनुभयाे। यसका लागि क्याबिनेटले निर्णय समेत गरिसकेको र निर्णयअनुसार कार्यविधि बनाएर उनीहरुको हितअनुरुप सरकारले कार्य गर्ने मन्त्री ज्ञवाली प्रष्ट पार्नुभयाे ।
तपाईँको अभिमत