पहिलो कोरोना संक्रमित नर्स सहित १०६ जना डिस्चार्ज

सांकेतिक तस्बिर
काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमित नर्स आज कपिलवस्तु अस्पतालबाट पूर्ण रुपमा ठिक भएर डिस्चार्ज हुनुभएको छ । कपिलवस्तु अस्पतालमा कार्यरत कोरोना संक्रमित नर्सको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि आज बिहान डिस्चार्ज हुनुभएको हो । पहिलो स्वाब परीक्षण गर्दा वैशाखा ३० गते उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो ।
उहाँको दोस्रो र तेस्रो रिपोर्ट भने नेगेटिभ आएको छ । उहाँले आफू संक्रमणमुक्त भएको जानकारी दिदै अस्पतालमा बस्दा स्वास्थ्य लाभको शुभकामना दिनुहुने सबैलाई धन्यवाद दिनुभयो । हेल्थपाटीसँग कुरा गर्दै उहाँले आफू पूर्ण स्वस्थ भएको बताउनुभयो । उहाँले डिस्चार्ज भएर पनि घरमा गएर सात दिन सेल्फ क्वारेनटाइनमा बस्ने बताउनुभयो । उहाँले १४ दिनसम्म अस्पताल बस्दा आफ्नो कोरोना भन्दा पनि समाजसंग लड्न गाह्रो हुने अनुभव सुनाउनुभयो । कोरोनासंग लड्न आत्मबल चाहिने उहाँको भनाई छ ।
यस्तै करोना भाइरस (कोभिड – १९)का पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि नारायणी अस्पतालमा उपचार गराइरहेका १८ जना डिस्चार्ज हुनुभएको छ । गत २१ बैशाखमा वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एक युवकमा कोरोना संक्रमण भएपछि उहाँको परिवारको सदस्यहरुको समेत परीक्षण गरिएको थियो । त्यसक्रममा परिवारका अरु १७ जना सदस्यमा समेत संक्रमण देखिएको थियो ।
आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड अस्पतालमा गरी ७२ जना संक्रमित उपचाररत छन् । यसअघि शनिबार पनि नाराणी अस्पतालबाट चार जना डिस्चार्ज भएका थिए । यो डिस्चार्ज संगै देशभर कोरोना जितेर घर फर्कनेको संख्या १०६ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत