दियो बालेर सम्मान गरेकै भरमा नर्सले सेवा दिन सक्छन् ?
फ्लोरेन्स नाइटिङ्गेलले क्रिमियाको युद्धमा घाइते भएका सिपाहीलाई सेवा दिएसँगै नर्सिङ युगको सुरुवात भएको थियो । दया र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई ‘द लेडी वीद द लाम्प’ भनेर पनि चिनिन्छ । उहाँको जन्मदिन पारेर संसार भर सन १९६५ देखी १२ मे का दिन हरेक वर्ष नर्सिङ दिवस मनाइन्छ ।
पछिल्लो समय संसारका नर्सहरु कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुधिरहेका छन् । लगभग पूरै विश्वभर यसको असर छ । कोरोना संक्रमितको उपचारमा सबैभन्दा अग्रपंतिमा नर्सहरु नै भिडिरहेका छन्। स्वास्थ्य क्षेत्रमा परेको यो महामारी नर्सहरुका लागि निकै ठूलो चुनौती सावित भएको छ ।
नेपालमा पनि दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेको छ । संक्रमितको संख्या ६ सयको हाराराीमा पुग्दा तीन जना संक्रमितले ज्यान गुमाइसकेका छन्।
नेपाल जस्तो देशमा यसले महामारीको रुप लियो भने यसलाई परास्त गर्ने निकै हम्मे पर्ने देखिन्छ। संक्रमितको संख्या बढ्दै जाँदा त्यसको प्रत्यक्ष भार नर्समाथि पर्न जान्छ। हालसम्म नेपालमा ६ जना नर्समा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । रातभर जागै बसी भोक निद्रा बिर्सेर बिरामीको सेवामा लाग्ने तिनै नर्स हुन्। जसरी एउटा बच्चालाई आमाले माया दिन्छिन त्यही माया दिएर निको हुन साहास दिने र संसारभर महिलाहरुको बाहुल्यता भएको एक मात्र पेसा हो नर्सिङ पेशा ।
चाहे घरमा दुई महिनाको दुधे बालक छोडेर होस्, भूकम्प वा कोरोनाको त्रास । आफू असुरक्षित रहेको कुनै प्रर्वाह नगरी खटिनु पर्ने स्वास्थ्यकर्मीलाई बेला दियो बालेर सम्मान गरेकै भरमा बिरामीको उपचारमा खटिन सक्दैनन् । आवस्यक सुरक्षा समग्रीको व्यवस्था र श्रमको उचित मूल्यांकन पनि हुनु पर्दछ । ज्ञान अनुसारको तलिम र उच्च शिक्षाका लागि वातावरण सिर्जना गर्दै स्वास्थ्य अनुसन्धानका छेत्रमा पनि नर्सलाई प्रेरित गर्नुपर्ने देखिन्छ ।
जस्तोसुकै परिस्थिति आएपनि सामना गर्न तयार छन् नेपाली नर्सहरु । तर यसरी जोखिममा होमिएर आफ्नो ज्यानको प्रर्वाह नगरी बिरामीको ज्यान बचाउन पाउँदा आनन्द मान्ने नर्सहरुलाई उचित सुरक्षा र हौसला दिई अविभावकको भूमिका निर्वाह गर्नु राज्यको दायित्व हो ।
बिरामीसँग २४ घण्टा प्रत्यक्ष सरोकार रख्ने नर्सहरु कोरोना मात्र हैन हरेक रोगको जोखिममा पर्दै आएका छन् । त्यसैले नर्सलगायत बिरामीसँग प्रत्यक्ष घुलमिल हुने स्वास्थ्यकर्मीको स्वास्थ्य बिमा सरकारले गरिदिनुपर्छ । विश्व स्वास्थ्य संगठनले सन २०२० लाई ‘नर्स एण्ड मिडवाइफ’ वर्ष घोषणा गर्दै गर्दा नेपालमा पनि नर्सिङ सेवा कत्तिको प्रभावकारी छ भन्ने कुरा कसरी मूल्यांकन हुँदै आएको छ ? अहिले काभिड–१९ महामारीको प्रसंग फरक भयतापनि के नेपालमा गुणस्तरीय नर्सिङ सेवा पर्याप्त छ ?
विश्वका उत्कृष्ट अस्पताल र स्वास्थ्य संस्थामा उल्लेखनीय योगदान दिन सक्ने नेपालका नर्सहरु किन नेपालमा उचित परिचालन हुन सकेनन् ? किन विदेशिइरहेका छन् ? फ्लोरेन्स नाइटिङ्गेलले युद्धका घाइते सिपाहीलाई मलमपट्टी लगाउँदाका बखतजस्तो नभइ आधुनिक नर्सिङ छेत्र आजसम्म आइपुग्दा निकै फराकिलो भएको छ्र ।
नेपालमा पनि अस्पताल नर्सिङसँगै पेडियाट्रिक , मिडवाइफ, सामुदायिक, क्रिटिकल कियर नर्सिङ आदि क्षेत्रमा विषयगत नर्सहरु उत्पादन भइरहेका छन् । ती नर्सहरुलाई उनीहरुको विषयगत ज्ञानअनुसार व्यवस्थापन र विकेन्द्रीकरण गरी देशभर स्वास्थ्य सेवा पुर्याउन राज्यको ध्यान जान जरुरी छ्र ।
त्यसैले कोरोना भाइरस (कोविड–१९) को यस विकराल परिस्थिति सामना गर्न खटिएका सम्पूर्ण नर्सहरुलाई सहजता प्राप्त होस । यो महामारीलाई सजिलै परास्त गर्न सकुन् । समुदाय र राज्यबाट सहयोग र उचित मूल्यांकन होस् । नर्सिङ सेवाबाट देशभर कोही पनि वञ्चित हुनु नपरोस् भन्ने मान्यता राख्नुपर्छ ।
पछिल्लो समय नर्सहरु उच्च जोखिममा रहेका छन् । उच्च जोखिमको विषयमा कुरा गर्दा पछिल्लो समय धुलिखेल अस्पतालको विषय होस वा आइओएम या ग्राण्डीमा आएका कोरोना संक्रमितको उदाहरणलाई हेर्ने हो भने पनि नर्स यो समय उच्च जोखिममा छन्। त्यसैले सरकारले बेलैमा नर्सको सुरक्षा तथा उचित मुल्यांकन हुनु जरुरी छ । कोरोना महामारी बढ्दै जाने र नर्सहरुको सुरक्षा व्यवस्था अहिले कै अवस्थामा रहने हो भने कसरी सेवा दिन सक्लान् ?
लेखक आइसीयू नर्स हुनुहुन्छ ।
तपाईँको अभिमत