ट्रम्पले भनेको औषधीकाे प्रयाेगले कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्याे
अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई सुझाएको औषधी प्रयोगबाट मृत्युदरमा वृद्धि भएको एक अध्ययनले देखाएको छ। उहाँले मलेरियाविरुद्ध प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्वीन औषधी कोभिड–१९ का बिरामीलाई प्रयोग गर्न सुझाउनुभएको थियो ।
द गार्जनका अनुसार अहिलेसम्म यसको पुरानो संस्करण क्लोरोक्वीन ६ वटा महादेशमा प्रयोग गरिएको छ। यो कुनै पनि परीक्षणबिना नै कोभिड–१९ का बिरामीमा प्रयोग गरिएको हो। यसको प्रयोगबाट मृत्युदरमा वृद्धि भएसँगै वैज्ञानिकहरूले अब कोभिड–१९ का बिरामीलाई अनुसन्धानका लागि बाहेक यो औषधी दिन नहुने बताएका छन्।
अनुसन्धानकर्ताले डिसेम्बर २० देखि अप्रिल १४ सम्म ६७१ अस्पतालका ९६ हजार बिरामीमा यो अध्ययन गरेका थिए। उक्त अध्ययन बिरामीलाई विभिन्न समूह बनाई गरिएको थियो।
अध्ययनका अनुसार औषधी नदिइएका बिरामीको मृत्युदर औषधी दिइएका बिरामीको भन्दा कम देखिएको हो। कुनै एक औषधी दिइएका हरेक ६ जनामध्ये १ जनाको ज्यान गएको छ। क्लोरोक्वीन र एन्टीबायोटिक औषधी लिने हरेक ५ जनामध्ये १ जनाको ज्यान गएको छ। त्यस्तै हाइड्रोक्सिक्लारोक्वीन र एन्टीबायोटिक प्रयोग गर्ने हरेक चारमध्ये १ जनाको मृत्यु भएको छ।
यसैगरी कुनै औषधी प्रयोग नगरेका हरेक ११ मध्ये १ जनाको ज्यान गएको अध्ययनले देखाएको छ। लान्सेट जर्नलमा क्लोरोक्वीन औषधी कोभिड–१९ को बिरामीमा प्रयोगका लागि अनुसन्धान गर्न सकिने कुरा छापिएको थियो। त्यस लगत्तै संसारभर यसको प्रयोग तीव्र रूपमा गरियो। अहिले पनि अधिकांश चिकित्सकले प्रयोग गर्न मिल्ने नमिल्ने प्रमाण बिना नै यसको प्रयोगका लागि सिफारिस गरिरहेका छन्।
यो औषधी मुटुको अनियमित चालको कारण हुने थाहा भए पनि अधिकांशले भने सुरक्षित रहेको दाबी गर्दै आइरहेका छन्। बिगत लामो समयदेखि मलेरियाविरुद्ध यसको प्रयोग गरिँदै आइएकाले यो सुरक्षित रहेको उनीहरूको तर्क छ।
फ्रान्सका एक चिकित्सकले आफूले बिरामीलाई क्लोरोक्वीन औषधी प्रयोग गरिरहेको बताएसँगै यसको प्रायोगमा व्यापकता आएको थियो। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्लोरोक्वीनभन्दा हाइड्रोक्सिक्लोरोक्वीन कम विषाक्त हुने दाबी गर्नुभएकाे थियाे । उहाँले यो औषधी कोभिड–१९ का बिरामीको उपचारमा प्रभावकारी हुने साथै पछि आफूले पनि यही औषधी प्रयोग गर्ने बताउनुभएकाे थियाे।
यो औषधी मलेरियाका लागि सुरक्षित भएपनि कोभिड–१९ धेरै फरक रोग भएको अनुसन्धानकर्ताले बताएका छन्।
हेल्थपाटी
तपाईँको अभिमत