थप २० मा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५०७ : स्वास्थ्य मन्त्रालय
काठमाडौं । बाँके,डडेल्धुरा,कैलाली,मोरङ र बैतडीमा गरि आजै थप २० जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले बाँके नैरनापुरका १३ जना पुरुष र राप्ती सोनारी पालिकाका एक जना पुरुष ,कैलालीको जानकी गाउँपालिकाको सरस्वती क्वारेन्टाइनमा रहेका ३ जना पुरुष ,डडेल्धुरा परशुराम १० का २८ वर्षका एक पुरुष,बैतडी शिवनाथ १ का २२ वर्षका एक पुरुष र रतुवामाई मोरङका ४१ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ जसमा पुरुषको संख्या ४३३ र महिला ७४ रहेका छन् । आजै बिहान कपिलवस्तु,सर्लाही र पूर्वी नवलपरासी,सुस्ता परासी र चितवनमा गरि ३० जनामा कोराना संक्रमण देखिएको थियो ।
४० जिल्लामा फैलियो संक्रमण
प्रवक्ता देवकोटाका अनुसार हालसम्म सातै प्रदेशमा गरि ४० जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रदेश नम्वर १ मा ८५, प्रदेश नम्वर २ मा १५१, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश नम्वर ५ मा २२७, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिममा १० जनालाई कोरोना पुष्टि भइसकेको छ ।
हालसम्म ७० जना निको भए
आज शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिकाका २१ जना व्यक्तिहरुको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेहरु १ देखी ६० वर्ष उमेरसम्मका छन् । यो संगै निको भएर घर जानेको संख्या ७० पुगेको छ । प्रदेश नम्वर १ मा २६,प्रदेश नम्वर २ मा ६,बागमती प्रदेशमा ९,गण्डकी प्रदेशमा २,प्रदेश नम्वर ५ मा २२ र सुदुरपश्चिममा ५ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ४१३ को पीसीआर परीक्षण
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८१९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ४२ हजार ४८८ जनाको परीक्षण भएको छ भने र्यापिड डायग्नोष्टिक टेस्ट(आरडीटि) बाट ८२ हजार ११६ जनाको परीक्षण भयो । २४ घण्टामा ३ हजार ४२१ जनाले आरडीटिबाट परीक्षण गराए ।
संक्रमण पुष्टि भएका ४३३ जना आइसोलेसनमा
आज २७ हजार ८२९ जना क्वारेन्टाइन र कोरोना पुष्टि भएका ४३३ जना आइसोलेसनमा बसिरहेको बताउनुभयो । हालसम्म एप्लीकेशन मार्फत आफ्नो स्वास्थ्यबारे जानकारी गराएका मध्ये हालसम्म ४३९ जना रेड जोनमा परेका छन् । रेडजोनमा परिरहेका मध्ये कन्ट्याक्ट ट्रेसिङ भइरहेको उहाँले बताउनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत