हामी नर्स, तनाव हैन हौसला चाहन्छौ
डिउटी आउने आउने जाने क्रममा कति ठाउँमा आफ्नो परिचयपत्र देखाउदा समेत बाटोमै रोकिदिने जस्ता धेरै कुराहरुले थप तनाव सिर्जना गरिदिएको छ
आज विश्व नै त्रसित हुनेगरी कोरोनाको महामारी फैलिरहेको अवस्था छ l कैयौ मानिसले ज्यान गुमाइ सकेका छन् भने कैयौँ मृत्युसँग लडिरहेका छन् l यो विस्वब्यपी महामारीसँग सम्पूर्ण स्वास्थ्यकर्मीहरु अग्रपंतीमा रहेर लडिरहेका छन् र यसै क्रममा धेरैले ज्यान पनि गुमाइ सकेका छन् l नेपाल पनि कोरोनाको प्रकोपबाट टाढा छैन l अमेरिका, चीन र इटाली जस्ता विश्वका शक्तिशाली देशहरूलाई आछु आछु पारिरहेको यस covid 19 भाइरस विरुद्धको लडाईमा हामी नर्सहरू पनि अग्रपक्तीमा रहेर लडिरहेका छौ l
तनाव छ हामीलाई
स्वास्थ्यकर्मीहरु संक्रमणको उच्च जोखिममा रहेका हुनाले उनीहरुको लागि अत्यन्त तनावपूर्ण स्थिति रहेको छ l म आफ़ैपनि एक नर्स हुँ l जब पहिलोपटक नेपालमा संक्रमण देखियो हामी एकदमै डराएका थियौ र भोलि आउनसक्ने स्थिती बारे चिन्तित थियौ l आफुलाई मानसिक रुपमा त तयार गर्यौ l PPE आउदैछ भनेर समाचारमा सुनिरहदा केहि राहत महसुस गरेका थियौ तर हामीले आज दिन प्रतिदिन बिग्रदो अवस्था संगसगै विभिन्न समस्याहरुका कारण तनावको स्थिती भोग्नु परिरहेको छ l अहिले कतिखेर कहा –कोबाट कोरोना संक्रमण हुने हो भन्ने डर त सामान्य लाग्न थालेको छ l हामी व्यक्तिगत समस्याहरुलाई पन्छाउदै आफ्नो तर्फबाट लड्न तयार छौ l
कोही सानो दुधे बालक छोडेर डिउटी गर्न आउछन कोहीको घरमा बुढा बाबा आमा हुनुहुन्छ , संसारलाई बचाउन हिडेका हामी कति खेर आफ्नो परिवारलाई संक्रमित बनाउछौ थाहा छैन l न्यूनतम सुरक्षा कवचको अभावमा बिरामीहरु स्वास्थ्यकर्मीबाटै असुरक्षीत छन् l यो तेस्रो विश्व युद्का सिपाई हामी बिना हतियार मैदानमा लड्नुपर्ने स्थिति रहेको छ l अधिकांश अस्पतालहरुमा नर्सहरुको लागी पर्याप्त PPE (Personnel Protective Equipment) को व्यवस्था नभएको गुनासो पाइएको छ । फलस्वरूप नेपालमा नर्स संक्रमणमा परिरहेका छन् । कतिपय अस्पतालले नर्सहरु कम जोखिममा रहेको भन्दै डाक्टरहरुलाई मात्र महत्व दिइएको गुनासो पनि छ l प्रत्येक अस्पतालहरुले चाडोभन्दा चाडो PPE को व्यवस्था गर्नुपर्छ l
दिनँहु डिउटी गर्ने क्रममा संक्रमणको जोखिम भएतापनि आफ्नो सन्तुष्टिका लागि कोरोनाको जाँच गराउन चाहे PCR सजिलै गराउन सकिएको छैन l स्वास्थ्यकर्मीको लागी PCR गर्न चाहे सजिलै त्यो सुबिधा उपलब्ध गराइनुपर्छ l कुनै कोरोनाको आशंका भएको बिरामीको सम्पर्कमा आएपनि Quarantine को व्यवस्था नहुदा धेरैनै समस्या भोगिरहनु परेको छ l स्वास्थ्यकर्मीहरुको लागी छुट्टै आवासको व्यवस्था गरिनुपर्थ्यो जसले गर्दा उनीहरु दिनरात आफ्नो परिवार संक्रमित होलाकि भन्ने डरबाट मुक्त हुनसक्छन l अस्पतालहरुले जतिसक्दो आफ्नो कर्मचारीहरुलाई सुरक्षित राख्दै आउनसक्ने एकदमै नराम्रो स्थितिको लागी तयार हुने निति बनाउनुपर्छ l
अस्पतालमा त समस्याहरु छदैछन अर्कोतर्फ़ सामाजिक रुपमा पनि हाम़ी अपहेलित हुनुपरेको छ l घरबेटी तथा छिमेकीहरुले कोरोना सर्ने डरले दुर्व्यवहार गर्ने, त्यस्तै डिउटी आउने आउने जाने क्रममा कति ठाउँमा आफ्नो परिचयपत्र देखाउदा समेत बाटोमै रोकिदिने जस्ता धेरै कुराहरुले थप तनाव सिर्जना गरिदिएको छ l भन्नुपर्दा हामीप्रति हेर्ने द्रिस्टिकोण नै फरक देखिन्छ, यसलाई परिवर्तन गरिनुपर्छ. l हामी आफु संक्रमित हुने जोखिम बोकेर हरदम लडिरहेका छौ l यस्तो भयावह महामारीको घडीमा हामि नर्सहरु सबैको साथ, सहयोग र हौसला पाउनुपर्नेमा टुहुरा जस्ता भएका छौ l नर्सको हकहितमा बोल्छु भन्दै भोट माग्नेहरू आज चुपचाप छन l
हाम्रो सुरक्षालाई गम्भीरतापूर्वक लिइएको पाइदैन l यसरी तनावको बिचमा कसरी यो युद्ध जित्न सक्छौ होला र l नर्सहरु कोरोनाको संक्रमण हुनु अघिनै निरासा र तनावले संक्रमित छन् l हामी नर्सहरु तनाव हैन हौसला र सुरक्षा चाहन्छौ ताकी हाम्रो मनोबल उच्च राखेर यो लडाईमा जित हासिल गर्न सकौ l आशा छ सम्बन्धित निकायहरुले यो विषयलाई गहन रुपमा लिएर हामी नर्सहरुको समस्यालाई समाधान गर्न सहयोग गर्नुहुनेछ l
(लेखक त्रिभुवन विश्वविद्यालय- शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
हेल्थपाटी
तपाईँको अभिमत