स्वास्थ्यकर्मीलाई तत्काल सेवा,सुविधा र भत्ता देउ : चिकित्सक संघ
काठमाडौं । नेपाली चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ । स्वास्थ्यकर्मीबाटै समुदायमा कोरोनाको संक्रमण फैलने जोखिम बढेको भन्दै संघले सुरक्षाको प्रवन्ध मिलाउन आग्रह गरेको हो ।
संघले नेपाल सरकार तथा सरोकारवाला निकायले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार सुरक्षाका सामग्रीहरुको उपयोग र पिसिआर परीक्षण पश्चात् मात्र स्वास्थ्य सेवा प्रवाहमा समावेश हुने सुरक्षित वातावरण तयार गर्न नेपाल चिकित्सक संघ माग गरेको छ ।
संघका अध्यक्ष डा. लोचन कार्कीले देशभर भाडामा बसी निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई घरधनीहरुले घरमा आउन नदिने, घरबाट बाहिर बस्न दबाब सिर्जना गर्ने, आवागमनका क्रममा दुव्यवहार गर्ने कार्य भइरहेको भन्दै त्यस्तो कार्य बन्द गर्न कडा का रुपमा प्रस्तुत हुन पनि सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले आफ्नो ज्यानलाई जोखिममा राखी निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई स्वास्थ्य संस्थाको नजिकै बैकल्पिक व्यवस्थापन गरी एकान्तवासमा बस्ने, खानपिनको उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
संघका महासचिव डा. बद्री रिजालले सरकारले घोषणा गरेको बमोजिमको भत्ता, सेवा सुविधा छिटो उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षा हासिल गरेका चिकित्सककै नेतृत्व हुनुपर्ने पनि संघको माग गर्नुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत