प्रेमीसंग मिली श्रीमतीले गरिन् औषधि व्यवसायी दुलालको हत्या

औषधि व्यवसायी देवीप्रसाद दुलाल
विराटनगर । विराटनगरको औषधि व्यवसायी ३३ वर्षका देवीप्रसाद दुलालको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलासा भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा हत्या भएको थियो । विराटनगरमा औषधि व्यवसाय गर्दै आएका उनको हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको छ । दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले औषधि व्यवसायीको हत्या नै भएको पुष्टि गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरिसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमतीकै योजनामा घटना भएको देखिन्छ । सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै हत्या गरेको खुलेको छ ।
ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ ।
दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । ओछ्यानमै बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनसाथ मृत घोषित गर्दै चिकित्सकले मृत्यु अस्वभाविक रहेको जनाएपछि घटनाका बारेमा अनुसन्धान थालिएको एसपी अधिकारीले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत