निजी र सामुदायिक अस्पतालमा कोरोना परीक्षणका लागि निर्देशिका
काठमाडौं । निजी तथा सामुदायिक अस्पतालहरुमा र्यापिड डाइअग्नस्टिक टेस्ट(आरडीटी) विधिबाट कोभिड–१९ कोरोना भाइरस परीक्षणका लागि सरकारले निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको यस निर्देशिकाका आधारमा निजी तथा सामुदायिक अस्पतालले आरडीटी परीक्षणका लागि अनुमति लिन पाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रवक्ता देवकोटाले अस्पतालको आन्तरिक प्रयोजनका आरडीटी परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरेको बताउनुभयो।निर्देशिका अनुसार काठमाडौं उपत्यका भित्रका अस्पतालले स्वास्थ्य सेवा विभागबाट परीक्षणका लागि अनुमति लिन पाउने छन्। उपत्यका बाहिरका अस्पतालले सम्बन्धित प्रदेशको स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ ।
लागतभन्दा २० प्रतिशत बढी नहुने गरी निजी तथा सामुदायिक अस्पतालले शुल्क लिन पाउने व्यवस्था पनि निर्देशिकामा रहेको प्रवक्ता देवकोटोले जानकारी दिनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले सूचिकृत गरेका आरडीटीहरु मात्रै प्रयोग गर्नु पर्ने निर्देशिकाले जनाएको छ। देवकोटाका अनुसार आरडीटी परीक्षणको पोजिटिभ आएमा पीसीआरका लागि रिफर गर्नुपर्नेछ। आरडीटीबाट आएको रिपोर्ट अभिलेख राखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगालामा दैनिक रिपोर्ट पठाउनु पर्ने व्यवस्था निर्देशिकामा छ।
हेल्थपाटी
तपाईँको अभिमत