लक्षण नै नदेखिई कोरोना संक्रमण फैलँदै, ८० प्रतिशत संक्रमित लक्षणविहीन
काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षकी सुत्केरीलाई कोरोना भाइरस संक्रमण कहाँबाट कसरी भयो ? अहिले नै यसै भन्न सकिने अवस्था छैन । काठमाडौं, टोखामा बस्दै आउनुभएकी उहाँ सुत्केरी व्यथा लागेपछि बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको थियो ।
२४ गते नर्मल डेलिभरी भएको र आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेपछि अस्पतालले सुत्केरी भएको भोलीपल्टै डिस्चार्ज गरेको थियो । त्यसपछि सुत्केरीसहित आफन्तहरु सोही दिननै सिन्धुपाल्चोक बाह्बिसे घर गएका थिए । सुत्केरीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराई धुलिखेल अस्पताल ल्याई पुर्याइएको आधा घण्टामा नै मृत्यु भयो । पछि थाहा भयो उहाँलाई कोरोना भाइरस संक्रमण भएको रहेछ। हालसम्म नेपालमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ भने २९१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
विज्ञहरुका अनुसार नेपालमा लक्षण नै नदेखिएका व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण देखिरहेको छ । हालसम्म संक्रमण देखिएका ८० प्रतिशत व्यक्तिमा कोरोनाको लक्षण देखिएको छैन । लक्षण देखिएका आधारमा भन्दा पनि प्रभावित देशबाट आएकाहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ र स्थानीय स्तरमा नै संक्रमण फैलिरहेको छ ।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारी भन्नुहुन्छ,लक्षणविहीन अवस्थामा कोरोना पोजेटिभ देखिरहेको अवस्था छ,अब कन्ट्याक्ट ट्रेसिङ मजबुत बनाई परीक्षणको दायरा नबढाई हुदैन । उहाँका अनुसार लक्षण देखिएर संक्रमण पुष्टि भएका २० प्रतिशत संक्रमितलाई थकान महसुस हुनु, सास फेर्न गाह्रो हुनु, ज्वरो र खोकीका लक्षण देखिएका छन् ।
संक्रमण देखिएपछि अस्पताल भर्ना भएकाहरुमा गम्भीर प्रकृतिका लक्षण देखिएका छैनन् जसका कारण हालसम्म कसैलाई पनि भेन्टिलेटरमा राखेर वा अक्सिजन दिएर उपचार गर्नुपरेको छैन उहाँले भन्नुभयो,यहाँ त लक्षण नै नदेखी संक्रमण फैलिरहेको अवस्था देखियो । सुत्केरी मृत्युको केसमा पनि त्यस्तै देखिन्छ ।उहाँलाई कोरोना पोजेटिभ भएको रहेछ भन्ने तथ्य मृत्युपछि परीक्षण गर्दा मात्रै थाहा भयो । यसको मतलब लक्षण देखिएकै १–२ दिनमै कोरोनाका कारण मानिसको मृत्यु भइहाल्दैन, विना लक्षण शरीरमा संक्रमण फैलिसकेको र अवस्था गम्भिर भइसकेपछि मात्रै सुत्केरीमा लक्षण देखिएको भन्न सकिन्छ । र,उहाँले समयपुग्नु एक महिना अगावै शिशु जन्माउनु पनि कोरोना भाइरसले भित्रभित्र संक्रमण गरिसकेकै कारणले होकी भन्ने प्रश्न पनि उठेको छ ।
यस्तै जनस्वास्थ्य विज्ञ डा.रविन्द्र समिरले फेसबुकमा लेख्नुभएको छ संक्रमण भित्रभित्रै फैलिरहेको छ ।
सुत्केरीको मृत्यु भएका सम्बन्धमा फेसबुकमा लेख्नुभएको उहाँको धारणा जस्ताको तस्तै : कोभिड १९ बाट मृत्यु भएको सिन्धुपाल्चोककी महिला टोखामा बस्थिन् प्रसव गराउन उनी बैशाख २३ गते शिक्षण अस्पताल गएकी थिइन्, २४ गते सामान्य अबस्थामा डिस्चार्ज भएकी उनी २५ गते बाह्रबिसे गएकी थिइन्, त्यहाँ उनी बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराइन्, उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पुर्याइयो ्र त्यसको आधाघन्टामा उनको उपचारको क्रममा मृत्यु भयो ।
.
यो घटनाबाट के अनुमान गर्न सकिन्छ भने –
.१. उनलाई शिक्षण अस्पताल जानुपूर्व कोरोना संक्रमण भएको हुनसक्छ र शिक्षण अस्पतालबाट सरेको भए सरेको ८( १० दिनमै मृत्यु हुने थिएन, सेप्टीसेमियाबाट मृत्यु भएको भए पिसिआर पोजिटिभ देखिने थिएन,सामान्यतया संक्रमण भएको ३ – ६ हप्तामा मृत्यु हुन्छ,उनलाई स्थानीय रुपमा पहिले नै लक्षणविहिन कोरोना संक्रमण भएको हुनसक्छ र
२. कोरोना संक्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्रसुती गराउने बिरामीलाई पिसिआर परिक्षण गरेको भए उनलाई प्रसव गराएर आइसीयुमा राख्ने अवसर मिल्थ्यो,
३. गर्भवती तथा सुत्केरीलाई जोखिम बर्ग मानिन्छ, यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर हुन्थ्यो,
४. हाम्रा अस्पतालले बुझ्नु पर्ने यो अवस्था आयो कि कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ,र सर्जरी गर्ने तथा प्रसव गराउने जस्ता बिषयमा पहिले पिसिआर टेस्ट गर्नु अनिबार्य भएको छ, यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन ।
५.अस्पतालबाट संक्रमण सर्ने सम्भावना अध्ययन गर्नु र तदनुसार हरेक अस्पताललाई संक्रमणरहित बनाउनु अपरिहार्य भएको छ ।
तपाईँको अभिमत