लकडाउनले चिन्ता बढ्दा उच्च रक्तचापका बिरामी पनि बढे
मानसिक तनाव रक्तचापको मुख्य कारण
घरैमा बस्ने र मीठो खाने अनि शारीरिक व्यायाम नगर्नेका लागि उच्च रक्तचापकाे खतरा
काठमाडौं। यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचापकाे खतरा अझ बढेको छ । नेपाल हार्ट फाउन्डेसनका अनुसार नेपालमा १८ वर्षमाथिको जनसङ्ख्यामध्ये एक तिहाइ जनसङ्ख्यामा उच्च रक्तचाप रहेको पाइएको छ । हरेक वर्षको मे १७ मा मनाइने यो दिवस सन् २००५ बाट मनाउन सुरु गरिएको हो ।
व्यस्त र बदलिँदो जीवनशैली, बजारमा बनेका खानेकुरा खाने बानी, कम सुुत्ने, मदिरापान, धूमपानजस्ता कारणले उच्च रक्तचाप हुने सङ्ख्या बढ्दैछ । उच्च रक्तचापलाई हाइपर टेन्सन पनि भनिन्छ । उच्च रक्तचाप नेपाली समाजका लागि पनि खतराको रूपमा रहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले उच्च रक्तचाप भएकामध्ये ९० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहा नहुने बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार वार्षिक विश्वमा एक करोड जनाको मृत्यु उच्च रक्तचापका कारण
डा. रेग्मीले उच्च रक्तचापले हृदयाघात, मस्तिष्काघात, अन्धोपन, मिर्गौलाले काम नगर्नेजस्ता जटिल रोग ल्याउने हुनाले बेलैमा सतर्कता अपनाउनुपर्ने बताउनुभयो । डा. रेग्मीले ९० प्रतिशतलाई कुनै लक्षण नहुने भएकाले समस्या हुने बताउँदै आफूलाई उच्च रक्तचाप छ भन्ने थाहा हुँदाहुँदै उपचार गरे पनि आधा जनसङ्ख्यालाई रक्तचाप रहिरहने बताउनुभयो ।
उहाँले लकडाउनले मानिसलाई चिन्ता बढेपछि उच्च रक्तचापका बिरामी पनि बढेकाे बताउनुभयो । मानसिक तनाव रक्तचापको मुख्य कारण हो भन्दै उहाँले यसले थप जटिलता ल्याउन सक्ने बताउनुभयो । लकडाउनमा मानिसले नियमित रक्तचाप परीक्षण गर्न नपाउने भएकाले समस्या हुने उहाँको भनाइ छ । मुटुरोग विशेषज्ञ डा. अतिल भट्टराईले नेपालमा मात्र नभएर विश्वभर उच्च रक्तचापका बिरामी बढिरहेको बताउनुभयाे।
९० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहा हुँदैन
उहाँले उच्च रक्तचाप मुटुरोगका कारकमध्ये एक प्रमुख कारक रहेको भन्दै विश्वव्यापी रूपमा मुख्य स्वास्थ्य समस्याका रूपमा देखिएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वार्षिक विश्वमा एक करोड जनाको मृत्यु उच्च रक्तचापका कारण भइरहेको छ । नेपाल जनसाङ्ख्यिक सर्वेअनुसार प्रतिहजारमा १७५ महिला र ३१५ पुरुषमा उच्च रक्तचाप देखिएको छ ।
उहाँले उच्च रक्तचापको प्रमुख कारण अव्यवस्थित जीवनशैली र मानसिक तनाव रहेको बताउनुभयो । उहाँले माथिको रक्तचाप १३० वा बढी र तलको रक्तचाप ८० वा बढी भएको अवस्था उच्च रक्तचाप हुने बताउनुभयो । सामान्य अवस्थामा १२० / ८० भन्दा कम रक्तचाप हुनुपर्छ ।
उच्च रक्तचापका लक्षण
सामान्यतया उच्च रक्तचापका लक्षणहरू देखिँदैनन् । ९० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहा हुँदैन । नियमित बिरामीको परीक्षण गर्दा मात्र उच्च रक्तचाप भए नभएको थाहा हुन्छ । उच्च रक्तचाप भएकाहरूमा रिँगटा लाग्ने, टाउको दुख्ने (पछाडिको भाग), मुटु हल्लने, आँखा धमिलो देख्ने लगायतका लक्षण हुन सक्छन् ।
लेखक गोरखापत्रमा कार्यरत पत्रकार हुनुहुन्छ ।
तपाईँको अभिमत