कोरोना संक्रमण बढ्दै गए लक्षण विहिन संक्रमितलाई घरमै राखिने
काठमाडाैं। सरकारले कोरोना भाइरस रोग(कोभिड नाइन्टिन) जोखिमलाई मध्यनजर गर्दै संक्रमितको संख्या बढ्दै गए लक्षणविहिन सामान्य प्रकृतिका विरामीलाई अस्पतालमा नराख्ने योजना बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुलाई क्वारेन्टाइन वा घरमै बस्न अनुरोध गरीने छ ।
संक्रमण दर फैलिदैं गए स्रोत साधनका आधारमा कोभिड नाइन्टिनलाई मध्यनजर गर्दै वर्तमान स्रोत उपलब्धतामा आधारित स्थितिको वर्गीकरण गरीएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिकृया योजना अन्तर्गत् पहिलो तहमा दुइ हजार जना सम्मलाई संक्रमण देखिएमा एक हजार ६ सय जनालाई सामान्य उपचारको आवश्यक पर्ने आँकलन गरीएको छ । यस्तै तीन सय जनालाई अस्पतालमा भर्ना गरेर अक्सीजनको आबश्यक पर्न सक्छ ।
एक सय जनालाई अस्पतालमा भर्ना गरेर सघन उपचार सेवा आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ । दोस्रो तह अन्तर्गत दुई हजारदेखि पाँच हजार जना सम्मलाई संक्रमण देखिएमा चार हजार जनालाई सामान्य उपचारको आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । यस्तै, सात सय ५० जनालाई अस्पतालमा भर्ना गरेर अक्सीजनको आबश्यक पर्न सक्छ । दुइ सय ५० जनालाई सघन उपचार सेवाको आवश्यक पर्न सक्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ ।
तेस्रो तह अन्तर्गत पाँच हजारदेखि १० हजार जना सम्मलाई संक्रमण देखिएमा आठ हजार जनालाई जनालाई सामान्य उपचारको आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । यस्तै एक हजार पाँच सय जनालाई अस्पतालमा भर्ना गरेर अक्सीजनको आबश्यक पर्न सक्छ । पाँच सय जनालाई सघन उपचार सेवाको आवश्यक पर्न सक्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ ।
चौथो तह अन्तर्गत् १० हजार भन्दा माथिसम्म संक्रमण देखिएमा आठ हजार जनालाई जनालाई सामान्य उपचारको आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । यस्तै एक हजार पाँच सय जनालाई अस्पतालमा भर्ना गरेर अक्सीजनको आबश्यक पर्न सक्छ । पाँच सय जनालाई अस्पतालमा भर्ना गरेर सघन उपचार सेवाको आवश्यक पर्न सक्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ ।
स्वास्थ्य मन्त्रालयले कम्तीमा पाँच लाख ४८ हजार क्वारेन्टाईनको संस्थागत विकास गर्नुपर्ने बताएको छ । हाल ५३ हजार आठ सय २३ वटा क्वारेन्टाईन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार देशभर तीन हजार ७६ आइसोलेसन बेड, एक हजार पाँच सय ९५ आइसीयू बेड, आठ सय ४० भेन्टिलेटर उपलव्ध छन् ।
एक सय जना संक्रमित भए तीन जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आउने स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा.खेम कार्कीले बताउनुभयो । उहाँले सामान्यतया संक्रमित मध्ये अधिकांश विरामीलाई उपचार आवश्यक नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन प्रतिशतलाई मात्रै उपचार चाहिन्छ । ९७ प्रतिशतलाई आवश्यक पर्दैन । एक सय जना विरामी भए तिन जनालाई उपचार चाहिन्छ ।
यसरी हेर्दापनि एक लाख संक्रमण हुँदासम्म हामीलाई बेडहरु पुग्छ ।’ एक लाख जनासम्ममा संक्रमण देखिए ती व्यक्तिहरुलाई धान्न सक्ने गरी क्षमता विस्तार गरीएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘लक्षणसहित संक्रमित भएकाहरुको संख्या बढ्दै गए लक्षणविहिन संक्रमितलाई अस्पताल राख्दैनौं । उनीहरुलाई क्वारेन्टाइनमा या घरमै बस्न अनुरोध गर्छौ । यसो गरीए एक लाख जना सम्म संक्रमण देखिदाँसम्म उपचार गर्न सक्छौं ।’
संक्रमणको दर बढ्दै गए अस्थायि प्रकृतिका अस्पतालहरु बनाउनुपर्ने गरी मन्त्रालयले योजना बनाएको छ । छोटो समयमा अस्थायि अस्पताल बनाउने मन्त्रालयको सोच रहेको डा.कार्कीले बताउनुभयो ।स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रिहरु अहिलेसम्म पर्याप्त मात्रामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरुको संख्या बढ्दै गए साधनस्रोत पनि बृद्धि गर्दै लैजाने गरी मन्त्रालय अघि बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना परीक्षणको दायरा बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आरडिटी विधिबाट अहिलेसम्म ६२ हजार ३ सय २७ वटा परीक्षण भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा २ हजार ८ वटा परीक्षण भएका छन् । परीक्षणको दायरा बढाउँदै लगिएको छ ।’
(लेखक राजधानी दैनिकमा आवद्ध पत्रकार हुनुहुन्छ । )
तपाईँको अभिमत