कोरोना संक्रमित ३ दिनदेखि ५४ जनासँगै क्वारेन्टाइनमा, पहुँच हुनेलाई मात्रै अस्पताल

संक्रमितहरु बसेको कोठा
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको महेन्द्र मावि क्वारेन्टाइनमा रहेका ३ व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको २ दिन बितिसक्दा पनि अस्पताल लगिएको छैन । बुधबार साँझ संक्रमित पुष्टि भएका ८ मध्ये ३ पुरुष क्वारेन्टाइनमा नै रहेका छन् ।
उनीहरुसंगै पुष्टि भएका अरु ४ जनालाई भने आइसोलेसनमा राख्न तौलिहवा पुर्याइएको छ । आइसोलेसनमा लगिएका मध्ये ४ जना शशस्त्र प्रहरीका ड्राइभर र अर्का एक जना कृषि शाखामा कार्यरत कर्मचारी हुन् । हाल क्वारेन्टाइनमा रहेका संक्रमित मध्ये एक नगरपालिकामा सरसफाई गर्ने कर्मचारी र दुई जना बैशाख १९ गते मुम्बईबाट आएर सिधै क्वारेन्टाइनमा बसेका थिए । 
क्वारेन्टाइनमा रहेकाहरु सबै पुरुष हुन् उनीहरुलाई एउटै कोठामा राखिएको छ । सोही विद्यालयको क्वारेन्टाइनमा ३ दिनदेखि बस्दै आउनुभएका एक व्यक्तिका अनुसार संक्रमितहरुलाई विद्यालयको माथिल्लो तलामा छुट्टै राखिएको छ तर संक्रमितले प्रयोग गर्ने र आफुहरु प्रयोग गर्ने धारा एउटै छ जसका कारण क्वारेन्टाइनमा रहेका अरु ५१ जनामा पनि संक्रमण हुने जोखिम उच्च छ ।
उहाँले भन्नुभयो संक्रमितलाई हेरविचार गर्न स्वास्थ्यकर्मी,सुरक्षाकर्मी कोही पनि आउनुभएको छैन,क्वारेन्टाइनमा न पिउने पानीको व्यवस्था छ ,न बत्तिको व्यवस्था । खानाको त परको कुरा । हामीलाई खानाका नाममा एक प्याकेट बिस्कुट र चाउचाउ दिईने गरिन्छ त्यसैले खाना घरबाट नै मगाउने गरेका छौ । कपिलवस्तुमा मात्रै हालसम्म ३९ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । कपिलवस्तुमा सबैभन्दा पहिला बैशाख २५ गते मायादेवि गाउँपालिकामा २ पुरुषलाई संक्रमण देखिएको थियो। 
कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल कुमार विश्वकर्माका अनुसार एम्बुलेन्स नरहेको र निजि सवारी साधनलाई अनुरोध गर्दा नमानेकाले ३ संक्रमितलाई आइसोलेसनका लागि पु्याउन नसकेको हो,नगरपालिकामा रहेका ३ वटा एम्बुलेन्स बिग्रिएका छन्,अर्काे एम्बुलेन्स खोज्दा २ दिन बित्यो । संक्रमितहरुलाई छुट्टै शौचालयको व्यवस्था गरि राखिएको विश्वकर्माले बताउनुभयो ।
तर क्वारेन्टाइन मापदण्ड अनुसार नहुँदा र त्यहाँ खान बस्ने सुविधा व्यवस्थित नहुँदा क्वारेन्टाइनमा रहेकालाई बाहिरबाट खानेकुरा,सामानहरु पुर्याइने काम भइरहेको छ जसका कारण क्वारेन्टाइनबाट नै संक्रमण फैलने डर उच्च छ ।
हेल्थपाटी
तपाईँको अभिमत