कञ्चनपुर र सुनसरीबाट काठमाडौं आउनु भएकाे थियाे कोरोना संक्रमितहरु
संक्रमितहरु काठमाडौमा चन्द्रागिरि ९, भक्तपुरमा ठिमी र दुवाकोट बस्नुभएको थियो
काठमाडौं । आज मात्र ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्ये भक्तपुरका दुई र काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की ३३ वर्षिया महिला हुनुहुन्छ । उहाँ बैशाख २९,गतेमात्र कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउनुभएको हो । काठमाडौकी उहाँ नेपालमा लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर जानुभएको थियो । लकडाउन भएपछि महेन्द्रनगरमा नै बस्नुभएको थियो । त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आउनुभएको हो । उहाँ महेन्द्रनगरबाट आफन्तको गाडीमा आउनुभएको थियो ।
काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उहाँको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । स्वास्थ्यकर्मीहरुको टोलीले उहाँलाई टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याएर भर्ना गरेकाछन् ।
यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९,गते नै काठमाडौ आउनुभउको हो । उहाँ मोटरसाइकलको पास बनाएर काठमाडौं आउनुभएको थियो । काठमाडौं आइसकेपछि ठिमीस्थित साथीकै कोठामा बस्नुभएकी उहाँकाे सोमबार स्वाब टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लिएको थियो । अहिले उहाँलाई पनि टेकु अस्पताल लगिएको छ ।
भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आउनुभएको हो । उहाँ केहीदिन अगाडी काठमाडौ आउने सवारी पास बनाएर काठमाडौ छिर्नुभएको हो । त्यसपछि दुवाकोटस्थित आफ्नै डेरामा बस्नुभएको थियो । तराइबाट आएको हुनाले स्वाब संकलन गर्न दिनुभएका ती युवालाई कोरोना पोजेटिभ देखिएको हो । यो समाचार तयार पार्दासम्म (रातको २ बजे) सम्म उहाँ अस्पतालमा आइपुग्नुभएको छैन । अहिले उहाँलाई लिन स्वास्थ्यकर्मीहरुको टोली भक्तपुरकाे दुवाकोटस्थित डेराबाट टेकु अस्पताल लगिदै छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत