भेन्टिलेटर ओभरलोड हुँदा ५ कोरोना संक्रमितको मृत्यु
मस्को,३० बैशाख । रसियामा भेन्टिलेटर ओभरलोड भई आगलागी हुँदा ५ जना कोराना संक्रमितको मृत्यु भएको छ । सेन्ट पिटरस्वर्ग शहरमा रहेको सेन्ट जर्ज अस्पतालको सघन उपचार कक्ष(आईसीयू)मा भेन्टिलेटर ओभरलोड भई आगो लाग्दा उपचाररत ५ जना कोरोना भाइरस रोगका बिरामीको मृत्यु भएको रसियाका समाचार संस्थाहरुले जनाएका छन् । सो अस्पतालमा भर्खरै कोरोनाका बिरामीको उपचार सुरु गरिएको थियो ।
आपत्कालिन मन्त्रीले आईसीयूमा आगो लाग्दा बिरामीको मृत्यु भएको पुष्टि गर्नुभएपनि कति जनाको मृत्यु भएको जानकारी दिनुभएन यद्यपी अस्पतालबाट १५० जना बिरामी बाहिर निकालिएको बताउनुभयो । अस्पतालका चिकित्सकका अनुसार अक्सिजनले भरिएको भेन्टिलेटर विष्फोट हुँदा वार्ड धुवाँले भरिएको थियो र सोही धुँवाका कारण अरु केही मानिस घाइते भएका छन् ।
प्रहरीका अनुसार आगो लागेको भेन्टिलेटर नयाँ र यसैमहिना मात्रै जडान गरिएको थियो र यो भेन्टिलेटर उरल मेशिन बिल्डिङ प्लान्टले निर्माण गरेको थियो । अनुसन्धानकर्ताहरुले भेन्टिलेटरको डिजाइन र निर्माण तथा आगलागी नियन्त्रणका सवालमा अस्पतालमा रहेको पूर्वसावधानीका बारेमा सत्यतथ्य खोज्नपर्ने बताएका छन् । उनीहरुले भेन्टिलेटरका कारण आगो लाग्नु लापारबाही रहेको बताएका छन् ।
भेन्टिलेटर निश्चित अवधिसम्म प्रयोग गर्नुपर्ने हुन्छ तर ओभरलोड हुँदा मेशिन तातिएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ,रोयटर्समा समाचार छ । रसियामा २ लाख २१ हजार ३४४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने २ हजार १ सय भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ । एजेन्सी ।
तपाईँको अभिमत