कोरोना प्रभावितमा युरोपको पहिलो बनेको बेलायतमा लकडाउन खोल्ने योजना
लण्डन, बैखाख, २९। कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट अतिप्रभावित मध्ये एक संयुक्त अधिराज्य बेलायतमा सरकारले लकडाउनलाई खुकुलो पार्दै लैजाने योजना सरकारले सार्वजनिक गरेको छ। आइतबार साँझ एक विशेष सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्लो डेढ महिनादेखि जारी लकडाउनलाई चरणवद्धरुपमा योजना घोषणा गरेका हुन्।
बेलायत कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याका आधारमा अमेरिकापछि दोस्रो र युरोपमा पहिलो राष्ट्र हो। जोन्स हपकिन्स युनिभर्सिटीले सोमबार बिहान आवधिक गरेका आँकडाअनुसार बेलायतका ३१ हजार ९ सयभन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। २ लाख २० हजारभन्दा माथि संक्रमित देखिएका छन्।
प्रधानमन्त्ती जोनसनले सार्वजनिक गरेको योजना अनुसार पहिलो चरणमा यही सातादेखि एकै घरका मानिसहरु पार्कमा बस्न पाउने, व्यायाममा समयको कुनै सीमा नलगाइने, सामाजिक दूरी पालन गर्दै गल्फ, टेनिस लगायतका खेलहरु सञ्चालन गर्न पाइने लगायतका छुटहरु रहनेछन्।
त्यस्तै, सरकारले घरबाटै काम गर्न असमर्थहरुलाई यसै सातादेखि आवश्यक सतर्कतासहित काममा जान प्रोत्साहित गरेको छ। तर उनीहरुलाई सार्वजनिक यातायात भन्दा आफ्नै सवारीको प्रयोग वा पैदलयात्रा गर्न आग्रह गरिएको छ।
दोस्रो चरणमा जुन महिनाको पहिलो सातादेखि प्राइमरी स्कुल र पसलहरु खुलाउने योजना अघि सारेका छन्। त्यस्तै, तेस्रो चरणमा जुलाई महिनादेखि हस्पिटालिटी क्षेत्रका केही व्यवसाय र अन्य सार्वजनिक स्थानहरु पनि खोल्ने योजना छ। सरकारले अहिलेसम्म घरमै बस्न आव्हान गर्दै आएकोमा स्टे होमको अपीललाई अब स्टे अलर्टका रुपमा परिवर्तन गरेको छ।
लकडाउन खुकुलो पार्ने यी सबै योजनाहरु सशर्त रहेको भन्दै प्रधानमन्त्रीले जोखिम बढ्दै गए तत्काल सबै परिवर्तन खारेज गरिने बताएका छन्।
प्रधानमन्त्री जोन्सनले निकट भविष्यमा हवाई मार्गबाट बेलायत प्रवेश गर्ने सबैलाई अनिवार्य क्वारेन्टाइनको नियम लागू गर्ने योजना समेत अघि सारेका छन्। गराएका छन्। प्रधानमन्त्री जोनसनका अनुसार लकडाउन सम्बन्धी यो लचकता तत्कालका लागि इङ्ग्ल्याण्डमा मात्र लागू हुनेछ। स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले भने अहिलेका लागि कुनै पनि लचकता जोखिमपूर्ण रहेको बताउदै आएका छन्।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै नेपालीहरुले ज्यान गुमाएको पनि बेलायतमै हो। लण्डनस्थित नेपाली दूतावासले कोरोनाबाट बेलायतमा ४६ जना नेपालीको मृत्यु भइसकेको पुष्टि गरेको छ। तर एनआरएनए यूकेसहितका अन्य संघ, संस्थाले जम्मा गरेको तथ्यांकले कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ५० भन्दामाथि रहेको देखाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत