कोरोना सर्ने प्रमुख माध्यम आँखा पनि, सार्स र बर्ड फ्लू भन्दा १०० गुणा संक्रामक
काठमाडौं,२५ बैशाख । मानिसको शरीरमा कोरोना भाइरस प्रवेश गर्ने मुख्य बाटो आँखा पनि भएको एक अध्ययनले देखाएको छ । हङकङ विश्वविद्यालयले कोरोना भाइरस रोग (कोभिड नाइन्टिन),स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एच५एन१)बारे गरिएको अध्ययनमा कोभिड सार्स र बर्डफ्लू भन्दा १०० गुणा बढी संक्रामक रहेको देखिएको बताएको छ ।
विश्वविद्यालयका जनस्वास्थ्य विज्ञहरुले प्रयोगशालामा गरेको परीक्षणमा कोभिड नाइन्टिन गराउने कोरोनाभाइरसको स्ट्रेन सार्स–कोभ–२ को ‘भाइरस लेभल’ हाम्रो माथिल्लो श्वासनली र कन्जङ्कटिभा (हाम्रो आँखाको सतह) मा सार्सभन्दा बढी रहेको पाइएको सायथ चाइना मर्निङ पोष्टले जनाएको छ । हङकङ विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका डा. माइकल चान ची–वाईले नेतृत्व गरेको टोली कोरोनाभाइरसले शरीरको दुई प्रवेश विन्दुबाट संक्रमण गर्न सक्छ भन्ने प्रमाण प्रस्तुत गर्ने पहिलो शोधकर्तामध्ये एक हो ।
यो खोज द लान्सेट रेस्पिरेटरी मेडिसिनको नयाँ अंकमा प्रकाशित छ ।‘हामीले मानिसको श्वालीनली र आँखाको कोषिकाहरुलाई लिएर प्रयोगशालामा सार्स–कोभ–२ को अध्ययन गर्दा त्यसलाई सार्स र एच५एन१ संग तुलना गरेका थियौँ । हामीले सार्सको तुलनामा कोरोनाभाइरसले आँखा र माथिल्लो श्वासनलीबाट मानिसलाई संक्रमण गर्न सक्ने क्षमता ८० देखि १०० गुणा बढी पायौँ,’ डा. चानले भन्नुभयो ।
यसअघि, विश्वविद्यालयका शोधकर्ताहरुले प्लास्टिक र स्टेनलेस स्टिलमा कोरोनाभाइरस ७ दिनसम्म बाँच्न सक्ने देखाएको थियो । यो अध्ययनले कोरानाभाइरसको संक्रमणबाट बच्न आँखा नछुने र बारम्बार हात धुनुपर्ने कुरालाई पुनः स्थापित गर्दछ । स्वास्थ्य अधिकारीहरुले चस्माबिना एन९५ मास्क र पीपीई मात्र लगाएर कोरोनाभाइरसको संक्रमणबाट बच्न सक्छन् भन्ने मान्यतालाई पनि यो अध्ययनले चुनौति दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत