नेपालमै कोरोना भाइरसका बिरामीमा खोप तथा औषधिको प्रयोग हुने
काठमाडौं,२५ वैशाख । नेपालले पनि कोरोना भाइरस रोगका बिरामीमा खोप तथा औषधिको क्लिनिकल ट्रायल गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना विरुद्ध क्लिनिकल ट्रायल तथा खोपमा ऐक्यबद्धता जनाउन आहन गरेसंगै नेपालले कोरोना भाइरस औषधिको क्लिनिकल ट्रायल गर्ने भएको हो । १ सयभन्दा बढी देशहरुले ऐक्यवद्धता जनाइसकेको उक्त क्लिनिकल ट्रायल अभियानमा नेपाल सरकारले पनि सहभागिता जनाउने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो क्लिनिकल ट्रायलमा सहभागिता जनाउन सचिवस्तरीय निर्णय गरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई काम अगाडि बढाउन अनुमति दिएको थियो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठनले आव्हान गरेको क्लिनिक ट्रायल अभियानअनुसार नेपालमा संक्रमितहरुमा औषधी प्रभावकारिताको अध्ययन गर्ने जानकारी दिनुभयो । नेपालले विश्व स्वास्थ्य संगठनको सहयोगमा क्लिनिकल ट्रायल गर्न लागेको हो। स्वास्थ्य मन्त्रालयको अनुमतिपछि स्वास्थ्य अनुसन्धान परिषदले अमेरिकाको जिलिड फर्मा्सिटिकल्सले उत्पादन गरेको एन्टीभाइरल रेम्डेसिभीरलाई कोरोना भाइरसका संक्रमितको उपचारमा प्रभावकारिता परीक्षणका लागि तयारी थालेको हो।
सो एन्टीभाइरलले अमेरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन (एफडिए)बाट कोरोना संक्रमितहरुमा प्रभावकारिता अध्ययनका लागि स्वीकृत पाएको छ । यो एन्टीभाइरल इबोलाका बिरामीका लागि पनि प्रभावकारी परीक्षण भइरहेको छ ।
तपाईँको अभिमत