कोरोना विरुद्धको महायुद्दमा खटिएका अदृश्य हिरोहरु
जसको मेहनतले पत्ता लाग्छ कोरोना भाइरस
यूएनको पब्लिकेशनमा कोरोना विरुद्धको लडाँइमा अग्र स्थानमा खटिएका विश्वका पाँच महिलाको लेख मध्ये डा.रुना झाको लेख पनि प्रकाशित
काठमाडौं,२४ बैशाख । नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । हालसम्म पिसिआर र र्यापिड डायग्नोष्टिक टेस्ट गरि ६५ हजार भन्दा बढीको कोरोना परीक्षण भएको छ । जसमा मंगलबारसम्म १३ हजार ८ सय ५० जनाको नाक र घाँटी भित्रबाट र्यालको नमुना (स्वाब) संकलन गरि परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको र धेरै भन्दा धेरैलाई परीक्षणको दायरामा ल्याउने काम भइरहेको दाबी गर्दै आएको छ ।
संक्रमितसंग नजिकको सम्पर्कमा आएका सबैको अनिवार्य पिसीआर मार्फत् स्वाब परीक्षण गर्नुपर्ने हुन्छ । यसका लागि प्रत्येकको घाँटीबाट र्याल निकाल्नुपर्ने हुन्छ र कोरोना परीक्षणमा यो सबैभन्दा जोखिमयुक्त काम हो जुन कार्य प्राविधिक स्वास्थ्यकर्मीले गरिरहेका छन् । स्वास्थ्यकर्मीहरुमध्ये कोरोना संक्रमितको सम्पर्कमा आउने पहिलो स्वास्थ्यकर्मीमा स्वाब संकलन गर्नेहरु पर्दछन् ।
भेरी अस्पतालको ल्याब टीम
उनीहरुले संकलन गरेर ल्याएका नमुनाबाट नै संक्रमण छ÷छैन पत्ता लाग्दछ । कहिलेकाही पिसीआरमा भाइरस छ छैन स्पष्ट नदेखिएमा फेरी दोह्याएर र्याल निकाल्न पर्नेपनि हुनसक्छ । स्वाब संकलनका लागि फिल्डमा खटिरहेका र संकलन गरि ल्याइएका नमुना परीक्षण गरि रिपोर्ट बुझाउने प्राविधिकको तितामिठा अनुभवलाई उहाँहरुकै शब्दमा हामीले समेटेका छौ ।
स्वाब संकलन टिम / प्रसिद्ध ढकाल ल्याब टेक्निसियन, भेरी अस्पताल नेपालगञ्ज
२०६१ सालमा गोर्खा आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट मैले स्वास्थ्य सेवा सुरु गरेँ । कार्यक्षेत्र र दखलता प्राविधिक भएपनि गाउँघरमा जनशक्ति नहुँदा अन्य सामान्य उपचार पनि गर्नपथ्र्याे । १२ वर्ष गोर्खामा नै सेवा गर्ने मौका पाएँ । १६ वर्षे स्वास्थ्य सेवा अनुभवमा दिनरात नभनी जोखिम मोल्दै खटिनुपरेको अनुभव मसंग दुईवटा छन् । पहिलो हो भुकम्प गएको बेला र दोस्रो वर्तमान अवस्थामा ।
घरहरुले थिची चोटपटक लागेका,रगताम्मे भएका बिरामीलाई औषधि उपचार गरेको थिए । अहिले त्यतिबेलाको भन्दा पनि धेरै जोखिम भएपनि उच्च मनोबल बोकेर म कोरोना विरुद्धको लडाँइमा लागिरहेको छु । चीन सहित अन्य देशमा कोरोना संक्रमणको अवस्थाले सुरुमा निकै डर लागेको थियो,अन्य रोगमा त बिरामीलाई छुँदा,संगै बस्दा संक्रमण नहुने भएकाले खासै केही लाग्दैन थियो तर यसमा त संक्रमितको थुकको छिटा र नजिकको सम्पर्कबाट संक्रमण हुने भएकाले निकै आत्तिएको थिँए,डर त अहिले पनि लाग्छ तर पूर्ण सुरक्षा अपनाएर काम गरिरहेको छु ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तालिमपछि स्वाब संकलन गर्न योग्य भएपछि मैले पहिलो पटक सायद चैत १२ गते नेपालगञ्जको एक होटलमा साउदीबाट आएका ४ जनाको स्वाब निकालेँ । त्यो दिन मेरा लागि निकै त्रासदी र चुनौतीपूर्ण थियो । लागेको थियो,उनीहरुमा कोरोना भाइरस संक्रमण भए मपनि संक्रमित हुन्छु होला । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आयो । त्यसपछि फेरी दोस्रो पटक अछाममा स्वाब संकलनका लागि जान पर्यो । रक्षा र स्वास्थ्य मन्त्रालयको टिमले भारत सहित अरु तेस्रो मुलकबाट आएकाहरुको स्वाब संकलन गर्नपर्ने थियो । त्यसमा म र भेरी अस्पतालमा नै कार्यरत मेरा सहकर्मी हरिशरण अधिकारी छानिएका रहेछौ,हामीले अघिल्लो दिनमात्रै त्यहाँ जाने जानकारी पायौ ।
अछाममा स्वाब संकलन गरि फर्कंदै
बयलपाटा अस्पताल, कमलबजार, क्वारेन्टाइन केन्द्र,जिल्ला अस्पताल, मंगलशेनमा गरि २ सय २६ जनाको नमुना संकलन गर्यौ । एक गाउँबाट अर्काे गाउँमा जान पर्ने थियो । दिनभर लाग्यो,मानिसहरु आत्तिएका थिए । त्यसपछि लगातार स्वाब संकलनमानै छु । पटक पटक क्वारेन्टाइनमा बसीसके । अहिले तेस्रो पटक भयो ९ दिनदेखि क्वारेन्टाइनमा छु ।
हालसम्म ८ सय जनाको नमुना संकलनमा सहभागि भएछु जसमा करिव ४ सय जनाको म आफैले स्वाब लिएको छु । बैशाख १९ गते नेपालगञ्जमा ६० वर्षका बृद्दमा कोरोना पोजेटिभ देखिएपछि उहाँको सम्पर्कमा रहेका ९४ जनाको स्वाब संकलनमा सहभागि भएँ जसमा पोजेटिभ देखिएका १५ जनासंग स्वाब लिने क्रममा मेरो प्रत्यक्ष सम्पर्क भएको छ । धार्मिक,सांस्कृतिक विविधताका कारण नेपालगञ्जमा स्वाब लिन केही समस्या पनि भयो ।
स्वाब संकलन गरिएका मध्ये केहीको पुनःनमुना लिनपर्ने देखिएको छ । पान,गुटखा,सुपारी खाएका केहीको फेरी संकलन गर्नुपर्ने देखिएको हो । स्वाब संकलन गर्न खासै समय लाग्दैन एक जनालाई करिब २ मिनेट जति लाग्छ । ट्रेसिङ भइरहेको छ फेरी पनि आफ्नो काममा लाग्नुनै छ । मैले अहिलेको समयलाई अवसर र चुनौतीको रुपमा लिएको छु ।
स्वाब संकलन गर्दै
आमाले कोरोना आको छ घर आइज भन्नुहुन्छ । मेरी श्रीमति मेडिकल क्षेत्रमा नै भएकाले उनलाई कामबारे राम्रो जानकारी छ । सानो छोरा छ उसंग भिडियोमा कुरा गर्छु । तर मेरी ७७ वर्षकी आमालाई म स्वास्थ्यमा काम गर्ने थाहा भएपनि अहिले कोरोना विरुद्धको लडाँइमा छु भन्ने थाहा छैन । चिन्ता गर्नुहुन्छ भनेर भनेको छैन । हिजै मात्र फोन गरेर बाबु नेपालगञ्जमा धेरैलाई कोरोना देखियो तिमी घर आइहाल भन्नुभयो । आमालाई सम्झेर दुःखी हुन्छु ।
प्रसन्न मिश्र,ल्याब इन्चार्ज,भेरी अस्पताल
भेरी अस्पतालको ल्याब प्रसन्न मिश्रको नेतृत्वमा दिनरात व्यस्त छ । अस्पतालको ल्याबमा पिसीआर ७ र ४ जना नमुना संकलनमा गरि ११ जनाको टीम रहेको छ । पिसीआर प्रोसेसिङमा माइक्रोबायोलोजिष्ट सन्दीप पोखरेल,सुलभ आचार्य, ल्याब टेक्निसियन प्रचण्ड गौतम, अंकित श्रेष्ठ, हरीशरण अधिकारी र बीएमएलटी सञ्जिव चौधरी हुनुन्छ भने स्वाब संकलनमा प्रसिद्ध ढकाल,केशव ज्ञवाली,शेरबहादुर साही र चिरञ्जीवि ज्ञवाली हुनुन्छ ।
भेरी अस्पतालमा पुरानो संरचना भएकाले सुरुमा ल्याब सञ्चालन गर्न समस्या भयो । सबै सामग्री जुटेपछि बैशाख ७ गतेबाट ल्याब सुरु भयो । हामीले अहिले बिहान ७ देखि राती ११ बजेसम्म काम गरिरहेका छौ । छिमेकी जिल्लाहरु दाङ,बर्दियाबाट पनि नमुना आएको छ । हालसम्म यहाँको ल्याबबाट ४ सय २१ जनाको नमुना परीक्षण भएको छ । ४ सय २१ जनाको परीक्षण भएकोमा २३ जनाको पोजेटिभ आएको छ जसमा सबै नेपालजञ्जका रहेका छन् ।
स्वाब ल्याबमा ल्याइसकेपछि: प्रचण्ड गौतम, ल्याब टेक्निसियन
पिसीआर विधिबाट ६ घण्टामा रिपोर्ट आउछ । यहाँको ल्याबको क्षमता अनुसार एक पटकमा ३४ वटा नमुनाको परीक्षण गर्न सकिन्छ । अहिले हामीले दिनको ८० वटा नमुनासम्म परीक्षण गरीरहेका छौ । पीपीई नलगाई आशंकित व्यक्तिको नजिक जाने कुरा भएन । नेपालगञ्जमा गर्मी बढिसकेको छ । शरीरमा हावा छिर्न पाउदैन शरीर पसिनाले भिज्छ,उकुसमुकस हुन्छ । स्वाब संकलन गर्ने साथीहरुलाई अझै धेरै गाह्रो छ ।
केही गरि स्वाब संकलन गर्दैगर्दा स्वाब दिने व्यक्तिले अचानक हाछ्यू गर्दा ,खोक्दा स्वास्थ्यकर्मीलाई संक्रमण हुने उच्च सम्भावना रहन्छ । पीपीई लगाउनैपर्छ,जसले झनै पसिनै पसिनाले पुरै शरीर भिज्छ । केही गरि स्वाब संकलन गर्दैगर्दा स्वाब दिने व्यक्तिले हाछ्यू ,खोक्दा स्वास्थ्यकर्मीलाई संक्रमण हुने उच्च सम्भावना रहन्छ ।
स्वाब संकलनका क्रममा ध्यान दिनपर्ने कुराहरु
स्वाब संकलनका सन्दर्भमा स्वाब लिने व्यक्तिका लागि खासै मापदण्ड नभएपनि पान,गुट्खा,सुपारी खाने व्यक्तिले कम्तिमा एक घण्टा अगाडि देखि ती खानेकुरा खानुहुँदैन जसले रिपोर्ट सही आउन सहयोग पुग्दछ । कतिपय पान,गुट्खा खाने गरेका केहीको रिपोर्ट स्पष्ट आएको छैन उहाँहरुको फेरि स्वाबको परीक्षण गर्नुपर्ने देखिएको छ । सकभर स्वाब निकाल्नुअघि १ घण्टा अगाडि जति पानी नखादा भाइरस भए / नभएको स्पष्ट थाहा पाउन सकिन्छ ।
कोरोना विरुद्धको लडाँइको हिरोलाई उच्च सम्मान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम प्रमुख डा.गुणराज लोहनीको नेतृत्वमा स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्दको समन्वयमा देशभर १८ स्थानमा पिसीआर मार्फत कोरोना परीक्षण सुरु भएको छ । देशभरको ल्याबको नेतृत्व लिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा.रुना झाको नेतृत्वमा देशभरका प्राविधिक स्वास्थ्यकर्मीहरु कोरोना विरुद्धको लडाँइमा अग्र स्थानमा हुनुन्छ । यूएनको पब्लिकेशनमा कोरोना विरुद्धको लडाँइमा अग्र स्थानमा खटिएका विश्वका पाँच महिलाको लेख मध्ये उहाँको लेख पनि प्रकाशित भयो जसले नेपालको शिर उँचो बनाएको छ ।
हेल्थपाटी डटकम कोरोना विरुद्दको लडाँइमा खटिएका चिकित्सक,नर्स,प्राविधिक लगायत सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहभागि हुनुभएका सबैको उच्च सम्मान गर्दछ ।
तपाईँको अभिमत