नेपालमा कोरोना भाइरसको स्ट्रेन बारे अनुसन्धान हुँदै
काठमाडौँ,२४ बैशाख । नेपालमा देखिएको कोरोना भाइरसको स्ट्रेन पत्ता लगाउन नेपाली बैज्ञानिकहरुले अनुसन्धान गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्तको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाईमा अनुसन्धान हुने भएको हो । परिषद्ले जिनसँग सम्बन्धित विभिन्न बैज्ञानिकसंग छलफल गरी अध्ययन प्रक्रिया अघि बढाएको छ ।
अध्ययनका लागि परिषद्ले नेपालमा रहेका भाइरोलोजीमा काम गरिरहेका जनविज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल अघि बढाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कोरोना भाइरसको स्ट्रेन पत्ता लगाउन अनुसन्धान प्रक्रिया शुरु गरिने भएकाले कोरोनाको ‘स्ट्रेन सिक्वेन्सिङ’ पत्ता लगाई संक्रमण एक ठाँउबाट अर्को ठाँउमा फैलँदै गर्दा त्यसले सार्न सक्ने क्षमताका बारेमा पनि जानकारी हुने बताउनुभयो ।
उहाँले अरू देशमा मानिसको मृत्यु भइरहेको अवस्थामा नेपालमा संक्रमितको अवस्था सामान्य देखिनु कोभिड नाइन्टिनको स्ट्रेनमा आएको परिवर्तन हुनसक्ने देखिएकाले यसको अध्ययन गर्नपरेको जानकारी दिनुभयो । अध्ययनका लागि काठमाडौँ विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा रहेका जेनेटिक ल्याबमा अनुसन्धानको तयारी गरिएको छ ।
अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको स्ट्रेन छ वा छैन भनेर पनि पत्ता लगाइनेछ । संक्रमितको स्वाब सङ्कलन गरी स्ट्रेन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत