जुम्लामा पनि पिसीआरबाट कोरोना परीक्षण सुरु,आठ जनाको स्वाब परीक्षण
काठमाडौं,२२ बैशाख । जुम्लामा पनि कोरोना भाइरस रोगको परीक्षण पिसीआरबाट सुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रि–एजेन्ट पुगेपछि पिसिआरबाट परीक्षण सुरु भएको प्रतिष्ठान अस्पतालका निर्देशक डा.मंगल रावलले जानकारी दिनुभयो । उहाँले सात जना स्वास्थयकर्मी र एक बिरामीको स्वाब संकलन गरि परीक्षण प्रक्रियामा रहेको बताउनुभयो । रिपोर्ट दुई देखि तीन घण्टामा आउने रावलले बताउनुभयो । प्रतिष्ठानमा नै पिसीआर परीक्षण सुरु भएकाले जुम्लामा परीक्षणको दायरा बढ्ने उहाँको भनाई छ । एकपटकमा ९४ जनाको परीक्षण गर्न मिल्ने उहाँले बताउनुभयो ।
यसअघि स्वाब परीक्षणका लागि सुर्खेतमा नमुना पठाउनपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ सय रि–एजेन्ट पठाएको छ । जुम्लामा नेपालगञ्ज र भारतबाट गएका झण्डै २ हजार व्यक्ति रहेका छन् । निर्देशक रावलले नेपालगञ्ज र भारतबाट कर्णाली गएका र लक्षण देखिएकाको सुरुमा परीक्षण गरिने बताउनुभयो ।
हालसम्म कर्णाली प्रदेशमा मात्रै कोरोना भाइरस रोगको संक्रमण देखिएको छैन । अरु ६ वटै प्रदेशमा संक्रमित भेटिएका छन् । कर्णालीमा संक्रमण रोक्न ७ दिन सिल गर्ने निर्णय भइसकेको छ । कर्णालीमा संक्रमण नियन्त्रणको पूर्वतयारी प्रशंसनीय रहेको छ ।

हेल्थपाटी
तपाईँको अभिमत