नेपालगञ्जमा भेटिएका ९ संक्रमितको कोरोना कनेक्सन
काठमाडौं, २१ वैशाख । नेपालगन्जमा आज कोरोना भाइरस रोग संक्रमण पुष्टि भएका ९ जना व्यक्ति नेपालगञ्जमा वैशाख १९ गते कोरोना पुष्टि भएका ६० वषिय पुरुषको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु हुन् । गत शुक्रबार ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उहाँको सम्पर्कमा रहेका ९० जना व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ३० जनाको स्वाब परीक्षण गर्दा २१ जनाको कोरोना नेगेटिभ र ९ जनाको पोजेटिभ देखिएको हो ।
बाँकी ६० जनाको स्वाब परीक्षणको क्रममा रहेको प्रदेश पाँच जनस्वास्थ्य निर्देशनालय श्रोतले जानकारी दिएको छ । उक्त वृद्धको परिवारको स्वाब संकलन गरिएको र परीक्षणको क्रममा रहेको हुनाले अझै संक्रमितको संख्या बढ्ने श्रोतको दाबी छ । उक्त कोरोना संक्रमित ६० वर्षिय पुरुष धार्मिक गुरु रहेको र अहिले पुष्टि भएका व्यक्तिहरु र स्वाब संकलन गरेका व्यक्तिहरु उहाँको परिवार तथा अनुयायी एवं नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु हुन् ।
अहिले ९ जनाको सम्पर्कमा आएकाहरुको पनि विवरण संकलन सुरु भइसकेको छ । आइतबार नेपालगञ्जको पिसिआर प्रयोगशालामा परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय संक्रमण पुष्टि भएका ९ जनालाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा लाने क्रममा रहेको श्रोतले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत