नर्सहरुको सेवा सुविधा वृद्धि गर्नुपर्छ, कोरोना उपचारमा प्रशंसनीय काम
काठमाडौं, २१ बैशाख । नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले कोरोना भाइरस रोगको उपचारमा नर्सहरुको भूमिका प्रशंसनीय रहेको बताउँदै उच्च मनोबलका साथ कोरोना विरुद्धको लडाँइमा सहभागी हुन सम्पूर्ण नर्सलाई आग्रह गर्नुभएको छ । कोरोना विरुद्ध अग्रस्थानमा खटिएका नर्सहरुको सेवा सुविधा वृद्धि गर्नुपर्ने उहाँको भनाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा अध्यक्ष राईले संक्रमितको उपचारमा चिकित्सकपछि सबै हेरचाह नर्सले नै गर्नपर्ने भएकाले नर्सको काम महत्वपूर्ण र चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले अहिलेको विषम परिस्थितिले स्वास्थ्यकर्मीहरुलाई टिम वर्कमा रही काम गर्न सिकाएको भन्दै कस्तो खालको रोगको उपचार कसरी गर्नुपर्छ भन्ने सम्बन्धमा नर्सहरुलाई व्यवहारिक शिक्षा लिन मद्धत पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, नर्सहरुको दुई वटा रोल अर्थात दोहोरो जिम्मेवारी छ, घरपरिवार सँगै अस्पतालमा बिरामीको उपचार गर्नुपर्छ त्यसैले अहिलेको अवस्थामा उनीहरुको पनि स्वास्थ्य परीक्षण गरि बालबच्चा, परिवारको स्वास्थ्य सुरक्षामा ध्यान दिनपर्छ । कोरोनाको महामारीबाट पाठ सिकी नर्स उत्पादनसँगै गुणस्तरीय नर्सिङ शिक्षातर्फ जोड दिनुपर्ने उहाँले बताउनुभयो । नेपालमा हालसम्म ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने १६ जना निको भएर घर फर्किसकेका छन् ।
तपाईँको अभिमत