घरमै सुत्केरी गराउनेको संख्या बढ्यो, मातृशिशु स्वास्थ्यमा खतरा

भरतपुर,कोशी,भेरी,कर्णाली,सेती,जनकपुर लगायत देशका १२ ठुला अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउनेको संख्या घटेको परिवार कल्याण महाशाखाले जनाएको छ ।
काठमाडौं, १९ बैशाख । कोरोना भाइरस रोगको संक्रमणको डर र सवारी साधनको अभावले अस्पतालसम्म पुग्न नसक्दा घरमा नै सुत्केरी गराउनेको संख्या बढेको छ । प्रसुती धेरै गराउने गरेका अस्पतालहरुमा लकडाउन सुरु भएयता ३ देखि १२ प्रतिशत सुत्केरी गराउनेको संख्या घटेको छ । अघिल्ला वर्षको तुलनामा यो समयमा हुने संस्थागत सुत्केरीको संख्यामा कमी आएको हो ।
भरतपुर,कोशी,भेरी,कर्णाली,सेती,जनकपुर लगायत देशका १२ ठुला अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउनेको संख्या घटेको परिवार कल्याण महाशाखाले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले लकडाउनमा स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउनेको संख्या घटेकाले सातै प्रदेशमा मातृ सुरक्षा चक्की खरिद गरि मौज्दात राख्न निर्देशन दिइसकेको बताउनुभयो ।
तैपनि कोरोना संक्रमण हुने डरले अस्पताल कम आएको होकी भन्ने आँकलन चिकित्सकहरुको छ ।
उहाँले घरमै सुत्केरी गराउँदा रक्तस्रावका कारण हुने मृत्युलाई न्यूनिकरण गर्न चालु आ.व.मा प्रदेशमा बिनियोजित भइरहेको बजेटबाट मातृ सुरक्षा चक्की खरिद गर्न भनिएको बताउनुभयो । यो चक्की महिला स्वयम्सेविकाहरुले गर्भवती महिलालाई वितरण गर्नेछन् । महानिर्देशक श्रेष्ठले गर्भवती र सुत्केरीहरुका लागि ओपीडि सेवा समेत बन्द नरहेकाले स्वास्थ्य संस्थाहरुमा नै सुत्केरी गराउन आग्रह गर्नुभयो ।
परिवार कल्याण महाशाखाका अनुसार लकडाउनका कारण स्वास्थ्यचौकी सम्म आउन समस्या पर्ने भएकाले दुई तीन महिनालाई पुग्नेगरि आइरन चक्की वितरण भइरहेको छ । यसअघि स्वास्थ्य चौकीबाट २ किलोमिटर भन्दा टाढाको दुरीमा रहेका गर्भवतीलाई आइरन चक्की दिदै आएकोमा अहिले सबै गर्भवतीलाई वितरण भइरहेको महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यका भित्रका गर्भवतीलाई बाहिर जस्तो यातायात साधन नपाएकै कारण अस्पतालसम्म आइपुग्न खासै अप्ठेरो छैन तैपनि कोरोना संक्रमण हुने डरले अस्पताल कम आएको होकी भन्ने आँकलन चिकित्सकहरुको छ ।
थापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पतालमा प्रसुती गराउनेको संख्या दैनिक करिव १५ प्रतिशतले कमीआएको र अहिले दैनिक करिव ६० जना प्रसुती सेवाका लागि अस्पताल आउने गरेको अस्पतालका निर्देशक प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालको परिवेशमा घरमा सुत्केरी गराउनु सुरक्षित नरहेकाले कुनै पनि हालतमा स्वास्थ्यचौकी तथा अस्पतालमा नै गएर प्रसुती गराउनुपर्ने निर्देशक गौतम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ घरमा हुने सुत्केरीलाई निरुत्साहीत गर्नैपर्छ ।
यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी हुन आउनेको संख्यामा खासै कमी नआएको अस्पतालका निर्देशक प्रा.डा.प्रेम खड्गाले जानकारी दिनुभयो । उहाँले दैनिक १० देखि १५ जनाले प्रसुती सेवा लिइरहेको बताउनुभयो ।
घरमै सुत्केरी गराउदा हुने जटिलताहरु / मातृशिशु स्वास्थ्यमा खतरा
१.बच्चाको मुटुको चाल ठिक छ की छैन थाहा हँदैन जसका कारण बच्चाको मृत्यु समेत हुनसक्छ ।
२.बेथा लागेर पाठेघरको मुख खुलेको / नखुलेको थाहा हुदैन जसका कारण आमा र बच्चा दुबैको मृत्यु समेत हुन सक्छ ।
३.बच्चा उल्टो / सुल्टो,तेस्रो के छ थाहा हुँदैन ।
४.बेथा लागेको भनि पाठेघर नखुल्दै बल लगाउन भनिन्छ जसका कारण पाठेघर खस्ने जोखिम हुन्छ ।
५.साल ननिस्कने समस्या उच्च रहन्छ जसले थप जटिलता निम्त्याउछ ।
६.नवजात शिशुको नाबी काट्ने र सरसफाईको बारेमा थाहा हुदैन ।
७.घरमा जीवाणुरहित औजारहरु हुँदैनन् जसका कारण आमा र बच्चा दुबैलाई संक्रमण हुनसक्छ ।
८.सुत्केरी भएपछि रक्तस्राव नहोस् भनेर दिईने औषधि घरमा हुँदैन जसले आमाको मृत्यु गराउँछ ।
त्यसैले आ–आफनो स्थानमा जे जस्तो साधन पाइन्छ सोही अनुसार स्वास्थ्य चौकी र अस्पतालसम्म पुग्न आग्रह गर्नुहुन्छ प्रा.डा.गौतम ।
नेपालमा मातृशिशु मृत्युदरको अवस्था
हाल नेपालमा एक लाख जीवित शिशु जन्मदा २४१ जना आमाको मृत्यु भएको तथ्याङ्क छ । २० वर्ष अगाडि एक लाख जीवित शिशु जन्मदा सुत्केरीका क्रममा हुने जटिलताका कारण ५ सय ३९ जना आमाको मृत्यु हुने गर्दथ्यो । अहिले यो संख्या घटेर २ सय ४१ मा त झरेको छ तर यो संख्या निकै नै धेरै रहेको प्रा.डा गौतमको भनाई छ । श्रीलंकामा एक लाख जीवित शिशु जन्मदा मातृ मृत्यु २५ भन्दा कम रहेको छ भने फिन्ल्याण्ड र फिलीपिन्समा त्यो संख्या जम्मा ५ छ ।
नेपालमा अझैपनि ४३ प्रतिशत गर्भवती घरमा नै सुत्केरी हुने गरेका छन् । भौगोलिक विकटता र जनचेतनाको कमीले ५७ प्रतिशत गर्भवतीले मात्रै स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिइरहेका छन् । स्वास्थ्यसंस्थामा सुत्केरी गराउन प्रोत्साहन स्वरुप सरकारले बाटो खर्च दिनथाले पछि संस्थागत सुत्केरी गराउनेको संख्या बढेको छ भने मातृशिशु मृत्युदरमा पनि कमी आएको छ ।
तपाईँको अभिमत