स्वास्थ्यकर्मीले पाउने भए जोखिम भत्ता, मन्त्रिपरिषद्द्वारा निर्देशिका पारित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार स्वास्थ्य सम्बन्धी अरु दुई निर्देशिका पनि पारित भएको छ ।
काठमाडौं,१८ बैशाख । कोरोना भाइरस रोगबाट संक्रमितको उपचारमा खटिने चिकित्सक,नर्स,प्राविधिक सहित सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुले जोखिम भत्ता पाउने बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको जोखिम भत्ता निर्देशिका मन्त्रिपरिषद्बाट पारित भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका पारित गरेको हो । निर्देशिका पारित भएसंगै सरकारले कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीले जोखिम भत्ता दिने निर्णय गरेको दिनदेखि नै जोखिमभत्ता पाउनेछन् ।
चैत ९ गते सरकारले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्स, प्राविधिक सहित सबै स्वास्थ्यकर्मी तथा सहयोगीको मनोबल बढाई प्रोत्साहन स्वरुप ५० देखि शतप्रतिशत जोखिम भत्ता दिने निर्णय गरे अनुरुप स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार गरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको थियो । मन्त्रालयले अग्र, दोस्रो र तेस्रो स्थानमा रहेर काम गर्ने चिकित्सक,स्वास्थ्यकर्मी तथा सहयोगीलाई दिईने सुविधाका बारेमा निर्देशिका बनाएको छ ।
निर्देशिका अनुसार उपचारमा सहभागि हुने चिकित्सक, नर्स, ल्यावका प्राविधिक लगायत अरु स्वास्थ्यकर्मी ,शौचालय तथा बिरामी बस्ने कक्ष सफा गर्ने सहयोगिहरु अग्र स्थानमा पर्दछन् । दोस्रो स्थानमा एम्बुलेन्स चालक तथा एम्बुलेन्समा रहने सहयोगी पर्दछन् भने तेस्रो स्थानमा अस्पतालमा क्यास काउन्टरमा बस्ने कर्मचारी, बिरामीलाई खाना, औषधि ल्याउने सहयोगीहरु राखी निर्देशिका बनाइएको छ ।
निर्देशिका पारित भएपछि अब अग्र स्थानमा संलग्न चिकित्सक,नर्स,स्वास्थ्यकर्मी तथा सहयोगीलाई १०० प्रतिशत जोखिम भत्ता दिइनेछ भने दोस्रो स्थानमा रहनेलाई ७५ र तेस्रो स्थानमा रहेर काम गर्नेलाई ५० प्रतिशत जोखिम भत्ता पाउनेछन् । यसैगरि उपचारमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागि हुने चिकित्सक ,नर्स स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप २५ लाख बराबरको बीमा तथा क्षतिपूर्ति पाउनेछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार स्वास्थ्य सम्बन्धी अरु दुई वटा निर्देशिका पनि पारित भएको छ ।
तपाईँको अभिमत