कोरोनाले मृत्यु भएकाकाे शव व्यवस्थापन गर्न टाेलि तयार

मोरङमा तयारी अवस्थामा रहेको शव व्यवस्थापन टोली । तस्बिर / जिप्रका मोरङ
विराटनगर कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएमा दाहसंस्कार एवं अन्त्येष्टि गर्न मोरङमा शव व्यवस्थापन टोली तयार गरिएको छ । अहिलेसम्म मोरङमा संक्रमित देखिएका छैनन् । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैको मृत्यु पनि भएको छैन । तर प्रदेश १ मा संक्रमित संख्या बढ्दै गइरहेका बेला जिल्ला प्रहरी कार्यालय मोरङले भने शव व्यवस्थापन टोली तयारी अवस्थामा राखेको हो ।
कोरोनाले कसैको मृत्यु भइहालेमा शव कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौतीपूर्ण बनिरहेका बेला इन्सपेक्टर (प्रहरी निरीक्षक) मिलन थापाको नेत्रृत्वमा १० जनाको टोली तयार गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो । मोरङमा अहिलेसम्म संक्रमित देखिएका छैनन् । नेपालमा कोही कसैको मृत्यु भए पनि भएको छैन, उहाँले भन्नुभयो, यदि मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न विशेष तालिम दिएर टोली तयार गरिएको छ । टोलीमा आवद्ध जनशक्ति शवको दाहसंस्कार एवं अन्त्येष्टिका लागिखटिने छ ।
कोरोनाका कारण कथंकदाचित कसैको मृत्यु भएमा दाहसंस्कार गर्ने, शव छिटो गरेर घाटमा पुर्याउने, अन्त्येष्टि गर्ने, पीपीई प्रयोग गर्ने लगायत शव व्यवस्थापनका क्रममा अपनाउनु पर्ने सुरक्षा सावधानी एवं सतर्कताका बारेमा आवश्यक तालिम र प्रशिक्षण दिएर टोली तयार गरिएको एसपी अधिकारीको भनाइ छ । उहाँकाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि २०७६ अनुसार टोली तयार गरिएको हो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि अरु मृतकको जस्तो सहज नहुने र अन्त्येष्टिमा धेरै भीडभाड गर्न नमिल्ने भएकाले त्यसका लागि विशेष टोली बनाइएको उनको भनाइ छ ।
कोरोना मान्छेबाट मान्छेमा एकदमनै चाँडो सर्ने भाइरस हो । यसका कारण मृत्यु भएमा परिवारका सदस्यले पनि शव छुन नपाउने स्थिति बन्छ, एसपी अधिकारीले भन्नुभयो, त्यो बेला शवलाई त्यत्तिकै छाड्ने कुरा पनि भएन । सुरक्षा सावधानी अपनाएर अन्त्येष्टि गर्नै पर्छ । कोरोना सहजै सर्ने खतरनाक भाइरस भएकाले संक्रमित व्यक्तिको नजिक पुग्दा सर्ने जोखिम धेरै हुन्छ ।
प्रदेश १ मा बिहिबार बिहानसम्ममा ३१ जना संक्रमित फेला परिसकेका छन् । संक्रमित मध्ये उदयपुरका २८, झापाका दुई र भोजपुरका एक जनाको विराटनगरको कोसी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्रमा उपचार भइरहेको छ । प्रदेश १ को राजधानी विराटनगरमा ५० वेडको कोरोना अस्पताल सञ्चालित छ ।
के छ कार्यविधिमा
कोरोना संक्रमितको मृत्यु भइहालेमा यसाे गरौँ : नेपाल मेडिकल काउन्सिल
शव व्यवस्थापन कार्यविधि अनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव जति सक्दो चाँडो घाटमा पुर्याउनुपर्छ । त्यसका लागि शव बहान प्रयोग गर्नुपर्छ । शव उठाउनुभन्दा अघि बहानका कर्मचारी र चालकले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ । शवलाई कम मात्रामा छुने र चलाउने गर्नुपर्छ । दाहसंस्कारमा सहभागी हुनै पर्ने आफन्त एवं नातेदारले अनिवार्य रुपमा पञ्जा, चस्मा, टोपी, मास्क र पीपीई लगाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।
६० वर्ष माथिका र दीर्घ रोगीलाई शवको छेउमा जान दिन हुँदैन । दाहसंस्कार गर्नुअघि शवलाई नछोइकन पानी छर्किने, पाठ गर्ने तथा फूलमाला चढाउने एवं अरु रीतिरिवाज पूरा गर्न सकिने छ । मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मिटर टाढैबाट एक÷एक जनाका दरले पालैपालो मात्रै हेर्नुपर्दछ र शव दहन गर्नुपर्दछ ।अन्नपूर्ण पोस्ट ।
हेल्थपाटी
तपाईँको अभिमत