रौतहटका दुई जना कोरोना संक्रमितलाई वीरगञ्ज ल्याइदै : स्वास्थ्य मन्त्रालय
काठमाडौं,१६ बैशाख । रौतहटमा कोरोना संक्रमण पुष्टि भएका दुई जनालाई उपचारका लागि वीरगञ्ज ल्याइदैछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा रौतहटका २४ र ३५ वर्षका युवालाई कोरोना पोजेटिभ देखिएको र उहाँहरुलाई उपचारका लागि वीरगञ्ज ल्याइदै गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । उहाँले दुबैको अवस्था सामान्य रहेको बताउनुभयो ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले दुवै संक्रमित भारतबाट नेपाल आएको बताउनुभयो । नेपालमा हालसम्म ५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये १६ जना निको भएर घर गइसक्नुभएको छ । ३६ जना सामान्य अवस्थामा उपचाररत हुनुन्छ भने दुई संक्रमितलाई उपचारका लागि वीरगञ्ज ल्याइदैछ । हाल विराटनगरमा ३१,धनगढीमा १,वीरगञ्जमा ३ र भरतपुरमा १ जनाको उपचार भइरहेको छ ।
प्रवक्ता देवकोटाका अनुसार हालसम्म पीसीआर र र्यापिड डायग्नोष्टिक टेस्ट मार्फत ५४ हजार ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ जसमा पीसीआरबाट १० हजार ८ सय ७ जनाको परिक्षण भएको छ भने ४४ हजार १९ जनाको आरडीटि मार्फत भएको उहाँले बताउनुभयो । पछिल्लो २४ घण्टामा १ हजार १ सय ९३ जनाको कोरोना परीक्षण भएको छ ।
आज २२ हजार ९९ जना क्वारेन्टाइनमा बसिरहनुभएको छ भने काठमाडौंमा ४ र बाहिर १०३ गरि १०७ जना आइसोलेसनमा रहेका छन् । उहाँले १० हजार पीपीई मौज्दात रहेको जानकारी दिनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत