कोरोना अति प्रभावित स्पेन र इटालीमा मृतकको संख्या घट्दाे, लकडाउन खुकुलो
काठमाडौं,१४ बैशाख । कोरोना भाइरस रोगको संक्रमणबाट अतिप्रभावित देश स्पेन र इटालीमा मृत्यु हुनेको संख्यामा कमी आएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा एक महिनायताकै सबैभन्दा कम मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार २ सय ८८ मानिसको मृत्यु भयो जुन गत मार्च २० यताकै सबैभन्दा कम हो ।
स्पेनमा हालसम्म २३ हजार १ सय ९० जनाको मृत्यु भइसकेको छ । यसैगरी संक्रमण घट्दै गएकाले डेढ महिनापछि स्पेनमा बालबालिकाहरुलाई घरबाट बाहिर निस्कन अनुमति दिइएको छ । लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएपछि बालबालिकाहरुले राहतको महसुस गरेका छन् । गत मार्च १४ देखि उनीहरु घरबाट बाहिर निस्कन पाएका थिएनन् ।
बालबालिकालाई सार्वजनिक पार्क तथा घरभन्दा एक किलोमिटर पर जान भने रोक लगाइएको छ । यद्यपि अझै पनि कतिपय प्रतिबन्धहरू जारी नै छन् । यसैबीच इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउनलाई खुकुलो पार्ने क्रम सुरू गरिने बताउनुभएको छ । टेलिभिजन सम्बोधनमा उहाँले मे ४ देखि दैनिक जीवनका केही प्रतिबन्धहरू हटाइने बताउनुभयो । उहाँका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउने बीबीसीले जनाएको छ ।
पार्कहरू खोलिनेछन् तर विद्यालयहरूले सेप्टेम्बरसम्म कक्षा सुरु गर्ने छैनन् । इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशहरूमा सबैभन्दा धेरैको मृत्यु इटलीमै भएको छ । इटलीमा अमेरिकापश्चात् सबैभन्दा धेरै २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ । तर हाल त्यहाँ लगातार मृतकको संख्यामा कमी आइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत