आरडीटीमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्युको कारण कोरोना होइन
पीसीआरमा कोरोना नेगेटिभ,क्यान्सरको बिरामी
काठमाडौं,१४ बैशाख । वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ आई उपचारका क्रममा मृत्यु भएकी वीरगञ्जकी युवतीको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । युवतीको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशाला पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिनुभयो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षकी युवतीको आइतबार बिहान मृत्यु भएको थियोे र उहाँको तीनपटक सम्म आरडीटीमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । युवतीको शव पोष्टमार्टमका लागि अहिले नारायणी अस्पतालमा राखिएको छ । ब्लड क्यान्सरबाट पीडित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।
एक महिना अघि क्यान्सर अस्पतालबाट घर फर्कनुभएकी उहाँलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा लगेकोमा मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा पुर्याइएको थियो । एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटल लगे । शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटकको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत