दाताले दर्ता हेर्दैनन् : औषधि व्यवस्था विभाग
काठमाडौँ, ११ बैशाख । औषधि व्यवस्था विभागले सहयोगमा आउने औषधिहरु औषधि व्यवस्था विभागमा दर्ता आवश्यक नरहेको स्पष्ट पारेको छ ।
विभागका महानिर्देशक नारायण प्रसाद ढकालले महामारीको समयमा सहयोगमा आउने औषधिहरुलाई दर्ताको आवश्यक नरहेको बताउनुभयो । हिजो भारत सरकारले सहयोग गरेको विभिन्न १८ किसिमका औषधि मध्ये एक औषधि नेपालमा दर्ता नभएको विषयमा चर्चा भएपछि ढकालले सहयोगमा आउने औषधिलाई दर्ता नचाहिने बताउनुभएको हो ।
उहाँले भारतको सहयोगमा आएको औषधि नेपालमा प्रयोग भइरहेको औषधिहरु नै रहेको बताउनुभयो । "विक्रि वितरणको प्रयोजनमा ल्याइने औषधि भने विभागमा दर्ता भएको हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो महामारीको समयमा दाताले दर्ता छ की छैन भनेर हेर्दैनन्, यो समय दर्ता हेर्ने बेला पनि होइन । प्रतिवन्ध र दर्ता फरक–फरक कुरा हुन् प्रतिवन्धित औषधि प्रयोग गर्न पाइदैन तर दाताले दिएको औषधि विभागमा दर्ता नभएपनि सरकारले प्रयोग गराउन सक्छ भारतले औषधि दियो धेरै औषधि नेपालमा दर्ता थियो" ।
उहाँले थप्नुभयो "महामारीमा चीन लगायतका देशले औषधि दिन चाहेको खण्डमा नेपालमा दर्ता भएको त हुँदैन, के अब महामारीमा त्यो सहयोग नलिने ? संक्रमितको उपचार नगर्ने ? यो बुझाईमा समस्या परेको जस्तो छ । हामी के कुरामा स्पष्ट हुनपर्छ भने दर्ता भनेको विक्रि वितरण गर्न व्यवसायीक प्रयोजनका लागि हो । अहिले भारतले दिएको औषधि विक्रि वितरणका लागि नभइ, कोरोनाको उपचारमा लागि सरकारले प्रयोग गर्ने हाे" ।
बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको औषधि मध्ये प्यारासिटामोल ३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ट्यावलेट औषधि व्यवस्था विभाग (डीडीए) मा दर्ता छैन तर त्यस्तै प्रकारको औषधि नेपालमा प्रयोग भइरहेको छ । कोरोना विरुद्धको अभियानमा भारतले २३ टन औषधि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत