कहाँ लगियो सर्लाहीका कोरोना संक्रमित बालकलाई ? किन फर्काइयो जनकपुरबाट !

सांकेतिक तस्विर
काठमाडौं,११ बैशाख । जनकपुरमा आज कोरोना संक्रमण देखिएका १४ वर्षका बालकको उपचार नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । सबैभन्दा जेठो कोरोना संक्रमित डिस्चार्ज भएकै दिन आज कान्छो संक्रमित अस्पताल भर्ना हुनुभयो । संक्रमित बालक सर्लाही धनकौल गाउँपालिका वडा नम्वर ५ को रहेको र उहाँको परिवारमा बाबु आमा र ३ भाइ बहिनी गरि ६ जना सदस्य रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जीसीले जानकारी दिनुभयो ।
किन फर्काइयो जनकपुरबाट
प्रजिअ जीसीका अनुसार चैत २३ गते रौतहतको मुख्य नाका गौरबाट बालक नेपाल प्रवेश गर्नुभएको थियो । सूचनाका आधारमा प्रहरीले बालकलाई घर नपुग्दै क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर परीक्षणका लागि पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । पीसीआरमा रिपोर्ट नेगेटिभ आएपछि बालकलाई जनकपुर अस्पतालले सर्लाही फिर्ता गरेको थियो । र त्यसपछि पनि सर्लाहीमा क्वारेन्टाइनमा राखियो । बालकलाई हिजो मात्रै घर पठाइएको थियो ।
बालकको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि पठाइएको थियो । टेकूमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएको जानकारी सर्लाहीका अधिकारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङबाट मात्रै थाहा पाए । एक्कासी रिपोर्ट पोजेटिभ आएपछि खैलाबैला मच्चियो र बालकलाई लिन प्रहरी उहाँकै घर पुगे ।
घर पुग्दा बालक संग सबैजना संगै थिए । बालक निकै शान्त स्वभावका भएकाले घर गएपछि बाहिर निस्कनुभएको रहनेछ प्रजिअ जीसीले भन्नुभयो हिजो मात्रै घर पठाएका थियौ कोरोना पोजेटिभ आएको थाहा पाउने बित्तिकै उद्दारका लागि हामी घर गयौ । हालसम्म कुनै पनि लक्षण नदेखिएका बालक सामान्य अवस्थामा हुनुन्छ । परिवार सहयोगी भएकाले बालकलाई ल्याउन सजिलो भएको प्रजिअ जीसीले बताउनुभयो ।
वावुले संक्रमित बालकको कपडा धोएको भन्दा अरु कोहीसंग सम्पर्कमा नरहेको जानकारी परिवारले स्थानिय अधिकारीहरुलाई दिएका छन् । बालकको घरका ५ जनालाई क्वारेन्टाइनमा राखिएको र भोलीबाट सबैको स्वाब परीक्षण सुरु हुने प्रजिअ जीसीले जानकारी दिनुभयो ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत