आप्रबासीका लागि अमेरिकाको ग्रिनकार्ड बन्द : राष्ट्रपति ट्रम्प
कोरोनाको सबैभन्दा बढी प्रभाव अमेरिकामा
अमेरिकीले जागिर गुमाउने र त्यो स्थानमा आप्रवासीलाई जागिर दिने कुरा गलत र अन्यायपूर्ण हुने
वैशाख,१० काठमाडौं । अमेरिकाले आप्रबासीहरुका लागि दुई महिनासम्म स्थायी बसोबासको अनुमति (ग्रिनकार्ड) दिन बन्द गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको नियमित प्रेस ब्रिफिङमा अस्थायी रुपमा ग्रिनकार्ड रोक्ने घोषणा गर्नुभएको हो । अमेरिकामा स्थायी रुपमा बस्न चाहने आप्रवासीहरुका लागि यो नियम लागू हुनेछ ।
अमेरिका कोरोनाको सबैभन्दा प्रभावित क्षेत्र भएपछि ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो । ट्रम्पले अस्थायी रुपमा काम गर्न अमेरिका विभिन्न देशबाट आई अन्र्तराष्ट्रिय संघसस्था, बहुराष्ट्रिय कम्पनीहरुमा काम गर्ने कर्मचारीहरुको लागि यो नियम लागू नहुने स्पष्ट पार्नुभयो । आप्रवासीहरुको लागि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने वा अझै जारी राख्ने भन्ने विषय दुई महिनापछिको अमेरिकी अर्थ व्यवस्थामा निर्भर रहने अन्र्तराष्ट्रिय समाचार माध्यामहरुले जनाएका छन् ।
ट्रम्पले संकटको घडीमा पहिला आफ्नो जनतालाई प्राथमिकता दिने त्यसपछिमात्रै आप्रबासीको बारेमा सोच्न सकिने बताउनुभयो । ‘कोरोना भाइरस संक्रमणको प्रभावका कारण लाखौं अमेरिकीको रोजगारी गुमेको अवस्थामा आप्रबासीलाई प्राथमिकता दिन नसक्ने पनि उहाँले जानकारी दिनुभयो । ट्रम्पले अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेकोे बताउनुभएको छ ।
अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । बिहीबार सम्ममा तयार भएर हस्ताक्षरका लागि आउने जनाइएको छ । ट्रम्पले अमेरिकीले जागिर गुमाउने र त्यो स्थानमा आप्रवासीलाई जागिर दिने कुरा गलत र अन्यायपूर्ण हुने बताउनुभयो । अमेरिकामा हालसम्म कोरोनाको कारण ८ लाख १९ हजार १४६ संक्रमित भइसकेका छन् भने ४५ हजार ३४० जनाको मृत्यु भइसकेको छ । यस्तै ८२ हजार ९७३ जना उपचारपछि घर फर्किएकाछन् ।
हेल्थपाटी
तपाईँको अभिमत