कोरोना संक्रमण समुदाय स्तरमा, स्थिति जटिल : डा.मरासिनी
संक्रमणको यो अवस्थासम्म आइपुग्दा संक्रमितको यात्रा इतिहास र संक्रमित व्यक्तिको सम्पर्क इतिहास चाहिदैन । यसको मतलव संक्रमण एक व्यक्तिबाट अर्काे ,परिवारबाट परिवार हुँदै समुदायसम्म पुगिसकेको हुन्छ । ट्रेसिङ गर्न कठिन हुन्छ ।
काठमाडौं,९ बैशाख । आज एकैदिन ११ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका २४ जना उदयपुर भुल्केस्थित मस्जिद वरपरका छन् जहाँ बैशाख ५ गते १२ जनालाई संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै सोही समुहका अर्का एक जनामा संक्रमण देखियो । संक्रमण देखिएकाहरुमा १८ देखि ६३ वर्ष उमेरका छन् । संक्रमण देखिएकाहरुमा लक्षण नदेखिकनै रिपोर्ट पोजेटिभ आएको छ जसले डरलाग्दो परिस्थितिको सृजना गरेको विज्ञहरुले बताएका छन् ।
त्यसपछि प्रभावित क्षेत्रलाई शिल गरी कन्ट्रयाक्ट ट्रेसिङ गर्दा हालसम्म सम्पर्कमा आएका २ सय ६० जनाको नमुना संकलन गरियो । जसमध्ये २० जनाको रिपोर्ट आउन बाँकी छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ८ जनालाई कोरोना पोजेटिभ देखियो । जसमा १० पुरुष र दुई जना महिला छन् । अब नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
आज थप संक्रमण देखिएका व्यक्तिहरु फरक फरक परिवारका सदस्यहरु रहेका छन् । विज्ञहरुका अनुसार आजको संक्रमण पुष्टि संगै नेपाल संक्रमणको तेस्रो चरण अर्थात् समुदायस्तरमा पुगेको छ । जनस्वास्थ्य विज्ञ एवं ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्व प्रमुख डा.बाबुराम मरासिनीले फरक फरक परिवारका सदस्यहरुलाई संक्रमण देखिनुले समुदायस्तरमा गएको भन्न सकिने बताउनुभयो । संक्रमणको यो अवस्थासम्म आइपुग्दा संक्रमितको यात्रा इतिहास र संक्रमित व्यक्तिको सम्पर्क इतिहास चाहिदैन ।
यसको मतलव संक्रमण एक व्यक्तिबाट अर्काे ,परिवारबाट परिवार हुँदै समुदायसम्म पुगिसकेको हुन्छ । ट्रेसिङ गर्न कठिन हुन्छ । डा.मरासिनीका अनुसार अब नेपाल पनि दक्षिण कोरियाको मोडलतर्फ उन्मुख हुनुपर्छ । जुन स्थानमा संक्रमण देखिन्छ त्यस क्षेत्रलाई पूर्ण रुपमा सिल गर्दै शंकास्पदलाई परीक्षण गरि आइसोलेसनमा राख्नुपर्छ ।
१.पहिलो चरण आयातित संक्रमण: जब प्रभावित देशमा गरिएको यात्रा ईतिहासबाट व्यक्तिमा संक्रमण भएको भेटिन्छ भने त्यो संक्रमणको पहिलो चरणको अवस्था हो । यसलाई आयातित संक्रमण पनि भनिन्छ । नेपालमा हालसम्मका आठ वटा संक्रमणको केस आयातित हो ।
२.दोस्रो चरण, स्थानिय संक्रमण : जब प्रभावित देशमा गरिएको यात्रा ईतिहासबाट संक्रमण भएको व्यक्तिबाट अर्काे व्यक्तिमा संक्रमण हुन्छ भने त्यसलाई लोकल ट्रान्समिशन अथवा संक्रमणको दोस्रो अवस्था मानिन्छ । अहिले नेपाल दोस्रो चरणमा छ । संक्रमित मध्ये एक जना महिलामा संक्रमित व्यक्तिबाट नै संक्रमण भएको छ । परिवारको सदस्यबाट परिवारमा नै सरेको नेपालमा यो पहिलो हो । चौथो संक्रमितबाट परिवारमा सरेको थियो । यसबाट समुदायसम्म संक्रमण पुग्ने खतरा उच्च रहन्छ ।
३.तेस्रो चरण, समुदायमा संक्रमण : संक्रमणको यो अवस्थासम्म आइपुग्दा संक्रमितको यात्रा इतिहास र संक्रमित व्यक्तिको सम्पर्क इतिहास चाहिदैन । यसको मतलव संक्रमण एक व्यक्तिबाट अर्काे ,परिवारबाट परिवार हुँदै समुदायसम्म पुगिसकेको हुन्छ । ट्रेसिङ गर्न कठिन हुन्छ ।
४. चौथो चरण, महामारी : जब रोगले महामारीको रुप लिन्छ संक्रमण नियन्त्रण बाहिर हुन्छ । महामारीको अन्त्य कहिले हुन्छ त्यसको टुंगो हुँदैन । अवस्था विकराल हुन्छ । विश्व स्वास्थ्य संगठनले मार्च ११ अर्थात् फागुन २८ गते विश्वमा कोरोना भाइरस रोगलाई महामारीको घोषणा गरेको थियो । कुनै पनि देशले संक्रमण उच्च भई नियन्त्रण बाहिर गएमा आफ्नो देशमा पनि महामारीको घोषणा गर्न सक्दछ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत