यूएनएफपीएद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं,८ वैशाख । नेपालमा कोरोना भाइरस (कोभिड–नाईन्टिन) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले १२ सय व्यक्तिगत सुरक्षा कवच (पिपिइ) किट्सहरु मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाल, चीन र यूएनएफपीएबीचको दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध किट्सहरु प्रदान गरिएको थियो ।
तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको पिपिइ किट्समा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स्, हेड कभर्स, शुकभर्स, लङ स्लिभ् इम्पर्भियस गाउन, डिस्पोजेबल ब्याग र गम्बुट्स रहेका छन् । पिपिइ किट्सहरु ग्रहण गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले पिपिइ सही सयममा आइपुगेको बताउनुभयो ।
उहाँले कोरोना भाइरसको महामारी प्रतिकार्यमा महत्वपूर्ण र ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोग गरेकोमा यूएनएफपीए र चीन सरकारलाई धन्यवाद दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्वपूर्ण रहेको बताउनुभयो ।
नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर यस महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार रहेको बताउनुभयो । उहाँले यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवनरक्षाका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको बताउनुभयो ।
पिपिइ किट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोरोनाकोे महामारीको दौरानमा क्वारेन्टिनमा बसेका महिला र किशोरीहरूको तत्काल सरसफाई र सुरक्षाका आवश्यकताहरू सम्बन्धी मर्यादा किट (डिग्निटी किट्स) प्रदान गरिरहेको जानकारी दिनुभयो । यी किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् ।
उहाँले अरु बेलाका सङ्कटको समयमा जस्तै यस महामारीमा महिला तथा किशोरीहरु आफन्त तथा घनिष्ट व्यक्तिहरुबाट हिंसामा पर्ने तथा अन्य घरेलु हिंसाको वढी जोखिममा पर्ने हुनाले उनीहरुको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत