हेटौडामा एनजिओले बाँडेको नगद भट्टीमै ठिक्क,बालबच्चाको बिचल्ली !
एनजिओको मनोमानीमा स्थानिय सरकार निरीह,प्रतिपक्षको द्वेध चरित्र
एनजीओले पैसा दियो मेरो श्रीमान्ले भट्टीमा रक्सी खाएर सक्नुभयो, सरकाले अब राहत नदिनेरे तर मेरो बालबच्चा भोकै छन् कमसेकम चामल दिएको भए बालबच्चाले खाना त पाउथे नी !
काठमाडौं,७ बैशाख । बाग्मती प्रदेशको राजधानी हेटौडामा राहतको नाममा नगद वितरण गरिएपछि सो रकमको दुरुपयोग भएको छ । आइएनजीओ प्लान इन्टरनेशनलले एनजीओ राडो नेपाल मार्फत हेटौडा उप–महानगरपालिकाको विभिन्न वडाहरुमा नगद वितरण गर्दा भट्टी पसलमा जाने क्रम बढेपछि पीडित परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या परेको छ ।
राहत विरतण भइरहेका स्थानका बासिन्दाहरुले भने एनजीओले खाममा नगद वितरण गर्दा राहत बुझेकाहरुले रक्सि खाएर राहतकाे दुरुपयाेग भएको बताएका छन् । नाम नबताउने सर्तमा एक राहत पीडित मिहिलाले भन्नुभयो "एनजीओले पैसा दियो मेरो श्रीमान्ले भट्टीमा रक्सी खाएर सक्नुभयो, अब सरकारले राहत नदिनेरे मेरो बालबच्चा भोकै छन् कमसेकम चामल दिएको भए बालबच्चाले खाना त पाउथे नी ? मेरो बालबच्चाको बिचल्ली भयाे" !
कोरोना भाइरस रोग संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको समयमा सरकारले दैनिक ज्यालादारी मजदुर, गरिव,अनाथ,अपांगता भएका तथा एकल महिलाहरुलाई एकद्धार प्रणाली मार्फत राहत वितरण गर्न निर्देशन दिएको छ । तर राडो नेपालले सरकारको एकद्धार नीतिको अवज्ञा गर्दै हेटौडा ३, १२, १३, १४,१५ र १९ नम्बर वडाका घरधुरीलाई नगद दुई हजार सात सय ३० रुपियाका दरले राहत बाँडेको छ ।
निरीह स्थानिय सरकार
एकद्धार प्रणाली मार्फत राहत वितरण गर्ने सरकारको निर्णय विरुद्ध किन राहत वितरण भइरहेको छ भन्ने हेल्थपाटीको प्रश्नमा हेटौडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले हेटौडामा राहत वितरण गर्न नपाए कालिकोटमा वितरण गर्ने भनेपछि आफ्नै स्थानिय नागरिकले राहत पाऊन भन्ने उद्देश्यले स्विकृति दिन बाध्य भएको बताउनुभयो । राहतको त दुरुपयोग भएछ नी भन्ने प्रश्नमा उहाँले अबका दिनमा नगद राहत वितरणको स्विकृति नदिने र राहत वितरण चाहनेले खाद्यन्न तथा दैनिक उपभोग्य वस्तु स्थानिय सरकारलाई उपलव्ध गराउनपर्ने र त्यो राहत स्थानिय सरकारले नै वितरण गर्ने बताउनुभयो ।
प्रतिपक्षीकोको द्वेध चरित्र
नेपाली कांग्रेस मकवानपुर सभापति इन्द्र बाँनियाले नियम विपरीत एनजिओहरुले नगद वितरण गरिरहेकोमा आपत्ति जनाउदै तत्कालै बन्द गराउन स्थानिय सरकारसंग माग गर्नुभयो । उहाँले राजनीति आस्थाका आधारमा राहत वितरण भइरहेको आरोप लगाउनुभयो । ३ नम्वर वडामा कांग्रेसले पनि एकद्धार नीति अवलम्वन गरेन नी भन्ने प्रश्नमा उहाँले वडाले राहत वितरणमा विभेद गरेपछि गरिवलाई कांग्रेसले राहत वितरण गरेको दावी गर्दै आफुले वडामा गएर सरकारको नीति अनुसार समान तरिकाले वितरण गर्न निर्देशन दिइसकेको बताउनुभयो ।
एनजिओको मनोमानी
राडो नेपालका प्रतिनिधि कृष्ण धितालले स्थानीय निकायसंग पूर्व स्विकृति लिएर राहत वितरण गरिएको बताउनुभयो । उहाँले प्लान इन्टरनेशनलले समाजकल्याण परिषद्संग नगद र जिन्सी सहयोग गर्ने गरि स्विकृति लिएको दाबी गर्नुभयो । हेटौडामा नगद वितरण गर्न नपाए कालिकोटमा लान्छु भनेर स्थानिय सरकारलाई दबाब दिएको रहेछ नी भन्ने प्रश्नमा उहाँले राजनीतिक आस्थाका आधारमा आरोप लगाइएको हो र यसमा सत्यता नभएकोले स्थानिय सरकारले नरोकेसम्म राहत वितरण भइरहने बताउनुभयो ।
नगद वितरण गर्दा राहतको दुरुपयोग भएको थाहा पाउनुभयो भन्ने अर्काे जिज्ञाशामा घुमाउरो पारामा स्विकार गर्दै उहाँले भन्नुभयो हामीले राहतको दुरुपयोगलाई रोक्न तुरुन्तै खाद्यन्न व्यवस्थाका लागि स्थानिय जनप्रतिनिधहरुलाई जिम्मा लगाएको बताउनुभयो । राडो नेपालले तीन हजार घरदुरीलाई नगद विरतण गर्ने भनिएकोमा हालसम्म आधालाई वितरण गरिसकेको छ ।
तपाईँको अभिमत