कोरोना उपचारमा ‘रेम्डिसिभिर’ औषधि प्रभावकारी
काठमाडौं, ६ बैशाख । रेम्डिसीभीर औषधिले कोरोना भाइरस रोगबाट छिटै मुक्त हुन सक्ने अध्ययनले देखाएको छ । रेम्डिसीभीर एन्टी भाइरल औषधि हो । परीक्षणका लागि प्रयोग गरिएको यो औषधिले संक्रमितहरु छिटै निको भएको एसटीएटीले समाचार लेखेको छ । औषधिको क्लिनिकल परीक्षणमा भाग लिइरहेका संक्रमित बिरामीहरुको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
विश्वका १ सय ५२ वटा परीक्षण मार्फत २४ सय विरामीमा प्रयोग गरिएको थियो भने १ सय ६९ वटा अस्पतालमा १६ सय विरामीमा परीक्षण गरिदैछ । सास फेर्न गाह्रो भएका तथा उच्च ज्वरो आएका बिरामीहरु यो औषधि प्रयोग गर्दा एक हप्ता अगावै निको भएको पाईयो अध्ययनमा भनिएको छ । सिकागो यूनिभर्सिटिका सरुवा रोग विशेषज्ञ डा.काथ्लीन मुलाउनेले रेम्डिसीभीर औषधि प्रयोग गरिएका विरामीहरु छिटै निको भएर डिस्चार्ज भएको बताउनुभयो ।
गिलियड विज्ञानले बनाएको यो औषधिबाट इबोला विरुद्धको परीक्षणमा थोरै सफलता मिलेको थियो । जनावरहरुमा पनि कोरोना विरुद्ध परीक्षण गरिएको थियो । यो औषधि सार्स र मर्सको उपचारमा पनि प्रयोग गरिएको थियो । फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले रेम्डिसीभीर कोरोनाको उपचारमा सम्भावित औषधि हुनसक्ने बताएको थियो । नेपालमा भने यो औषधि उपलब्ध छैन ।
हेल्थपाटी
तपाईँको अभिमत